शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा पशु विमा तर्फ कृषकहरुको आकर्षण बढ्दो

सोमवार , बैशाख ४, २०८०

सिन्धुली – पछिल्लो समयमा सिन्धुलीमा पशु विमा तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ । पशु पालनमा हुन सक्ने जोखिमबाट बच्न सकिने भएपछि आफूहरुको आकर्षण बढेको कृषकहरु बताउछन् ।

कमलामाई नगरपालिका ५ कृषक दिनेश कार्कीको रोग लागेर गाई मर्‍यो । विमा गरेकाले उहाँले क्षतिपूर्ति वापतको रकम पाउनुभयो । ५० हजार रुपैयाको विमा गरेकोमा ४५ हजार रुपैया पाएको उहाँले बताउनुभयो । पशु पालनमा हुन सक्ने जोखिमबाट बच्नको लागि विमा गरेको कार्की बताउनुहुन्छ ।

कमलामाई नगरपालिका ४ शिब ढकालले पनि गाईको विमा गर्नु भएको छ । “रोग लागेर, व्याउन नसकेर अथवा अन्य केहि कारणले गाई म¥यो भने पनि विमा वापतको पैसा पाइन्छ । त्यहि पैसाले अर्को गाई किन्न सकिन्छ ।” उहाँले भन्नुभयो, “गाई म¥यो ढुबियो, अव व्यवसाय नै गर्न सकिदैन भन्ने चिन्ता लिनु पर्दैन । विमा गरेपछि यी सबै चिन्ताबाट मुक्त भएर ढुक्कले व्यवसाय गर्न सकिन्छ ।”

किसानहरुले आफूले पालेको गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर कुनै रोग लागेमा अथवा अन्य कारणले मरेमा त्यसबाट किसान नोक्सानमा नपरोस भनेर सरकारले पशु विमा पोलिसि ल्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ । स्थानिय तह हुन अघि तत्कालित पशु सेवा कार्यालयले पशु विमा गराउदै आएको भए पनि अहिले भने स्थानिय तहहरुबाटै विमा भइरहेको केन्द्रले जनाएको छ ।

कमलामाई नगरपालिकाका पशु विकास शाखाका पशु सेवा प्राविधिक मिन बहादुर थापाका अनुसार एउटा देखि व्यवसायिक रुपमा पालेका धेरै पशुको विमा गर्न सकिने छ । रोग लागेर अथवा केहि कारणले पशु मरेमा अगाडी नै पशु विमा गरेको खण्डमा विमा रकम पाउने उहाँले बताउनुभयो । पशु पालक कृषकले विमा गर्दा तिर्नुपर्ने प्रिमियममा पनि सरकारले ७५ प्रतिशत तिर्दिने भएकाले ठूलो रकम पनि नलाग्ने उहाँ बताउनुहुन्छ । विमा गरेको अवधिमा पशु मरिहालेमा ९० प्रतिशत रकम सरकारले उपलब्ध गराउने भएकाले तुरुन्तै अर्को जनावार किनेर पनि आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया