सिन्धुली – अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा कमलामाई नगरपालिकाले सिन्धुलीगढी विजयोत्सव कात्तिक २४ गते मनाउने भएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कात्तिक २ं४ गते मनाउन लागिएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
विजयोत्सवको दिन कमलामाई नगरपालिकाले सार्वजनिक विदा समेत दिने निर्णय गरेको उहाँले बताउनुभयो । तिहारको लगत्तै परेको विजयोत्सवलाई सास्कृतिक कार्यक्रमको साथ धुमधामका मनाउने तयारी रहेको नगरप्रमुख खत्रीले बताउनुभयो । विजयोत्सवको दिन सम्पूर्ण नागरिकले सिन्धुलीगढी निशुल्क अवलोकन गर्न पाउने छन् ।
यसपटकको विजयोत्सवमा भने गढीमा हेर्न लायक भवन र मूर्तिहरु समेत बनिसकेका छन् । कमलामाई नगरपालिकाको पहलमा गढीमा नेपालकै पहिलो युद्ध संग्रहालय बनिसकेको छ भने वीर सपुतहरुको प्रतिमा समेत बनेको छ । सिन्धुली गढीमा अंग्रेजलाई गोर्खाली फौजले परास्त गरेको असोज १५ गते भएपनि विजयोत्सव भने कात्तिक २४ गतेका दिन मनाउने चलन छ ।