सिन्धुली – समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो ।
विगतमा केहि खबर पठाउन तथा प्राप्त गर्न हुलाक सेवा प्रयोग गर्नुभएको कमलामाई नगरपालिका ४ का ७४ वर्षिय इन्द्र बहादुर कार्की अहिले प्रविधिको विकास भएसँगै हुलाक सेवा उपयोगविहिन भएको बताउनुहुन्छ । “विगतमा चिठ्ठीपत्र हुलाकीले घरघरमा ल्याउने गर्नुहुन्थ्यो, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा प्रयोग गरेका थियौँ । सयम बदलिँदै जाने क्रममा समयानुसार यसको सेवा प्रभावकारी हुन नसक्दा यसको महत्व हट्दै गएको छ ।”
पहिला– पहिला यहाँका दाजुभाइ लाहुर गएका र विभिन्न देशमा काम गर्न गएकाको खबर पाउने, यताको खबर उता र उताको खबर यता पठाउने एउटै मात्र माध्यम हुलाक सेवामार्फत चिठ्ठीपत्र आदानप्रदान रहेको उहाँले बताउनुभयो । कार्कीले भन्नुभयो “चिठ्ठी आउन र पाउनलाई पनि धेरै समय लाग्थ्यो, हुलाकी दाइ भनेर परिचित एक जना दाइ हुनुहुन्थ्यो, उहाँ गाउँमा आउँदा चिठ्ठी आयो कि भनेर सोध्ने गर्थेँ । विगतमा चिठ्ठीपत्र कि त छिमेकी कोही विदेशबाट आएमा मात्र त्यहाँको हालखबर थाहा हुने गरे पनि अहिले त मिनेट भरमै सबै ठाउँको कुरा थाहा हुन्छ ।”
अहिले हुलाक समयानुकूल हुन नसक्दा अहिलेका नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । सुनकोशी गाउँपालिका ५ का ७३ वर्षिय वृद्धि बहादुर थापा भन्नुहुन्छ, “हुलाकी गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो । विगतमा यसले ठूलो महत्व राखे पनि प्रविधिको युगमा अहिले भने यसको वास्ता हुन छाडेको छ ।”
हुलाक भनेको सुनेको छु, तर यसको काम के हो ? कुनै जानकारी नभएको कमलामाई नगरपालिका ४ की १९ वर्षिय गंगा मगरले बताउनुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा नभएको उहाँको भनाइ छ ।
प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउने लगायत काममा मात्रै हुने गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख राजेन्द्र प्रसाद प्याकुरेलले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि यतिबेला हुलाक सेवाबाट भन्दा इमेल, इन्टरनेट, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको हुलाक उहाँको भनाइ छ । यतिबेला हुलाक सुनसानजस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको पार्सललगायतका २० देखि ३० वटा सम्म चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १२ इलाका, ४२ अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय रहेका छन् । यी सबै कार्यालयमा लगभग २ सय ३० जना कर्मचारी छन् ।