बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सिन्धुलीमा अनलाईन कक्षालाई थप प्रभावकारी बनाऔँ

शनिवार , श्रावण २३, २०७८

कोरोना भाइरसका कारण सिन्धुली लगायत देशभर पठनपाठन प्रभावित बनेको छ । शैक्षिक क्षेत्रमा कोरोना कारण प्रत्यक्ष असर परिरहेको छ । शैक्षिक संस्थाहरु संचालनमा आउन सकेको छैन । तर, जिल्लाका निजि तथा सामुदायिक विद्यालयहरुले अनलाईन कक्षामार्फत पठनपाठन गराइरहेका छन् ।

अनलाईन कक्षा संचालन गर्दा विद्यार्थी र अभिभावकले विभिन्न समस्याहरु झेलिरहनुपरेको छ । सुस्त इन्टरनेटको गति, इन्टरनेटमा नागरिकको पहुँच, इन्टनेट सम्बन्धि आवश्यक ज्ञान लगायत विभिन्न कारणले गर्दा अनलाईन कक्षा संचालन गर्न अभिभावककालागि समस्या परिरहेको छ । शैक्षिक संस्था, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानिय सरकार लगायत सम्बन्धित पक्षले अनलाईन कक्षालाई सहज बनाउन सचेतना कार्यक्रम ल्याउन सकेका छैनन् । जसले गर्दा शिक्षित अभिभावकहरु प्रभावित नभनेपछि इन्टरनेटको पर्याप्त ज्ञान नभएका परिवारहरुलाई इन्टरनेट प्रयोग गर्न अफ्ठ्यारो भएको छ । तसर्थ, अनलाईन कक्षा संचालन गर्दा अभिभावकलाई आवश्यक ज्ञान बाढ्न जिम्मेवार पक्ष गम्भिर हुन जरुरी छ ।

अनलाईन कक्षा संचालन भएसँगै बालबालिकामा केहि नकारात्मक असरहरु परिरहेको छ । उनीहरु मोबाइलमा बढि केन्द्रित भएका छन् । बालबालिकाहरुले धेरै समय मोबाइल प्रयोग गर्दा अभिभावकहरु समेत चिन्तित बनेको अवस्था छ । अभिभावकहरु चिन्तित हुने भन्दा पनि कसरी बालबालिकालाई चाहिने समयमा मात्र मोबाईल प्रयोग गर्न दिने भन्नेतर्फ केन्द्रित हुनुपर्छ ।

शिक्षाको नाममा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर हुन नदिन अभिभावकले आफ्ना बालबालिकालाई निगरानिमा राख्न जरुरी छ । त्यसैगरि, जिल्लामा कोभिडको अवस्थामा पठनपाठनलाई कसरी गुणस्तरीय बनाउने भन्नेतर्फ स्थानिय सरकार, शैक्षिक संस्था लगायत शिक्षासँग सम्बन्धित संघसंगठनले समय खर्चनुपर्दछ । अतः अनलाईन माध्यमबाट पढाईका क्रममा देखिने समस्याको समाधान गर्न र अनलाईन कक्षाले बालबालिकामा देखिएको नकारात्मक असर न्युनिरकरण तर्फ सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ ।

प्रतिक्रिया