बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा विद्यार्थीको प्रदर्शनमा प्रहरीसँग झडप( हेर्नुस भिडियो)

शनिवार , आषाढ १९, २०७८

सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु ने.वि.संघ,अखिल(क्रान्तिकारी),अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले आज सिन्धुलीमाढीमा मशाल जुलुस सहित प्रदर्शन गरेका छन । प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन ।

युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको गैरीबजारबाट मशाल बोकेर के.पी.ओली मूर्दावाद,संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिनिधिसभा विघटन खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर जस्ता नारा लगाउँदै लोकतान्त्रिक चोकसम्म पुगेका थिए ।

प्रहरीले बिच बाटोमै पटक–पटक मशाल खोस्ने प्रयत्न गरेको थियो । लोकतान्त्रिक चोकमा आन्दोलनकारी आइपुगेपछि प्रहरीले मशाल खोस्न हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबिच लामो समयसम्म लोकतान्त्रिक चोकमा निकै खैलाबैला चलेको थियो।

उक्त क्रममा आन्दोलनकारी र प्रहरीबिच झडप परी धकेलाधकेल र लठ्ठी हानाहान समेत भएको थियो ।

कार्यक्रममा विद्यार्थी नेताहरुले बोल्दै के.पी. ओलीलाई घुंडा टेकाएरै छाड्ने,असंवैधानिक कार्य कदापी स्वीकार्य नहुने बताए।

कार्यक्रममा ने.वि.संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल तरुण दल,वाइसीएल,युवा संघ,नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा एमालेका विभिन्न ओहदाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम अपराह्न ५ बजेबाट सुरु भइ करिब ६ बजे समाप्त भएको थियो।

प्रतिक्रिया