शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका आठ स्थानीय तह हरूले बजेट ल्याए,बजेटमा स्वास्थ्यलाई प्राथमिकता

शुक्रवार , आषाढ ११, २०७८

सिन्धुली – सिन्धुलीका ८ वटा स्थानीय तहरुले बजेट ल्याएका छन् । असार १० गते भित्र बजेट ल्याउनु पर्ने प्राबधान अनुसार स्थानीय तह हरूले २०७८÷७९ को बजेट ल्याएका हुन् ।

यस बर्ष मरिण गाउँपालिकाले बागमती प्रदेशको पालिकाहरू मध्ये नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह रहेको छ । मरिण गाउँपालिका सिन्धुलीले मंगलवार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि ५३ करोड ४० लाख २५ हजार बजेट सार्वजनिक गरेको हो ।

मरिण गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड १३ लाख ५ हजार, सामाजिक विकास तर्फ ६ करोड ९५ लाख ६७ हजार ७ सय, पूर्वाधार विकास तर्फ २ करोड ९२ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७ लाख ५० हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ६१ लाख बिनियोजन गरेको छ ।

मरिण गाउँपालिकाले विद्यालय व्यवस्थापनलाई प्राथमिकतामा राखि ३ करोड ८३ लाख ५ हजार ७ सय रुपैयाँ बजेट बिनियोजन गरिएको छ । गाउँपालिकालाई कृषिको व्यवसायिकरण र आधुनिकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्न, दुध र मासुमा आत्मनिर्भर बनाउनका लागि कृषि तथा पशु कार्यक्रम सञ्चालनका लागि १ करोड १८ लाख ५ हजार रुपैयाँ बजेट बिनियाोजन गरिएको छ ।

त्यस्तै पालिकाले कोभिड १९ साथै अन्य रोगको विपद् व्यवस्थापन तथा न्यूनिकरणका साथै आधारभुत स्वास्थयमा सबैको पहुँच तथा गुणस्तर स्वास्थ्य सेवा प्रवाहको लागि १ करोड ३७ लाख ७२ हजार बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि चालू खर्च तर्फ १५ करोड ५८ लाख ५९ हजार, पूँजिगत खर्च तर्फ १० करोड ७९ लाख ५० हजार, सशर्त अनुदान तर्फ २० करोड ७१ लाख ७५ हजार, समपुरक अनुदान तर्फ ३ करोड ४० लाख र विशेष अनुदान तर्फ १ करोड ९१ लाख गरी गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ५२ करोड ४० लाख २५ हजार बजेट ल्याएको छ ।

यसैगरी दुधौली नगरपालिकाले ९५ करोड ९२ लाख १० हजार ५ सय बराबरको बजेट ल्याएको छ । नगरले कोरोना नियन्त्रण रोकथाम तथा जनस्वाथ्यलाई प्राथामिता दिएको दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउतले बताउनु भयो ।

फिक्कल गाउँपालिको ४४ करोड बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले पुर्वधार निर्माणमा ८ करोड बराबरको बजेट छुट्याएको छ भने स्वास्थ्यमा १० प्रतिशत,कृषिमा २० प्रतिशत र शिक्षामा ३० प्रतिशत बजेट छुट्याएको गाउँपालिकाका उपाध्यक्ष पावर्ती सुनुवारले बताउनुभयो । साथै महिला, बालबालिका,जेष्ठ नागरिकको क्षेत्रमा समेत प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

घ्याङलेख गाउँपालिकाले ३६ करोड बराबरको बजेट ल्याएकोे छ । स्वाथ्य,कृषि र पूर्वाधार निमार्णलाई प्राथमिकता दिएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा देवी सुनुवारले बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाले ५१ करोड ३७ लाख २३ हजार ४ सय ५८ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि,स्वास्थ्य, पर्यटन,पुर्वाधार निर्माणलाई प्राथमिता दिएको गाउँपालिकाले जनाएको छ ।

तीनपाटन गाउँपालिकाले ७६ करोड २८ लाख ९५ हजार २ सय बराबरको बजेट ल्याएको छ । तीनपाटन गाउँपालिकाले कोभिड र कृषिलाई पहिलो प्राथमितामा राखेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष पदम मायाँ तामाङले बताउनुभयो ।

कमलामाई नगरपालिकाले १ अर्ब ११ करोड बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले जेष्ठ नागरिक,कृषि,स्वास्थ्य,शिक्षा लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरको छ ।

यस्तै सुनकोशी गाउँपालिकाले भने बजेट ल्याउन छलफल गरिरहेको बताएको छ । गाउँपालिकाले केहि दिन भित्रै बजेट सार्वजनिक गर्ने सुनकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले कृषि,स्वास्थ्य,शिक्षा, पुर्वाधार निर्माण लगाएतलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भएको छ ।

गोलन्जोर गाउँपालिकाले भने बिहिवार निति तथा कार्यक्रम ल्याएको । गाउँपालिकाले कृषि, पर्यटन,पुर्वाधार लाई प्राथमिकता दिएको गोलन्जोर गाउँपालिकाका सूचना अधिकारी ठाकुर प्रसाद दाहालले बताउनुभयो । गाउँपालिकाको असार १५ गते बजेट ल्याउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया