सिन्धुली । सिन्धुलीका पाँच राजनीतिक दलले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधिसभा बिघटन गरी चालेको प्रतिगामी कदम बिरुद्ध हुने संघर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि आग्रह गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सिन्धुलीको नेपाली काँग्रेसको पार्टी कार्यालयमा बैठक बसी उक्त विज्ञप्ती जारी गरेका हुन् । राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका खातिर प्रधानमन्त्री वलीको प्रतिगामी कदम र प्रतिगामी सरकार अन्त्य नभएसम्मसंघर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि पाच दलले अपिल जारी गरी आग्रह गरेका हुन् ।
पाँच दलले सम्पूर्ण युवा, विद्यार्थी, किसान, मजदुर, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, नागरिक समाज, पत्रकार, मानब अधिकारकर्मी, बुद्धिजीबी, देशभक्त कर्मचारी र सुरक्षाकर्मीमा उक्त अपिल जारि गरेका जनाएका छन् । साथै पाँच दलले आफ्नो सिंगो पार्टीपंक्ति, भातृ तथा जनबर्गिय संगठन, मोर्चाहरुलाई सशक्त प्रतिरोध गर्न निर्देशन समेत जारी गरेका छन् ।

बिषम परिस्थिती सिर्जना गरेर जनतालाई प्रतिवाद र प्रतिरोधमा निस्किन बाध्य पार्ने र कोरोना थप फैलाउने नियत प्रधानमन्त्री ओलीको प्रष्ट देखिएको उनीहरुले बिज्ञप्ती मार्फत आरोप लगाएका छन् । कोरोना रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षामा सिंगो राष्ट्रलाई केन्द्रित गर्नुको सट्टा नगराउने नियतसहित निर्बाचन घोषणाको नाटक गरेर राष्ट्रलाई नै लज्जित बनाएको बिज्ञप्तीमा जनाईएको छ ।
प्रतिनिधिसभा बिघटन गरी संविधानको धारा ७६(५) बमोजिम माननिय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको प्रति पाँच राजनीतिक दलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । राष्ट्रपतिले आफ्नो पदिय मर्यादाको ख्यालै नगरी असंवैधानिक ढंगबाट प्रधानमन्त्रीको कारिन्दा बनेर प्रतिगमनको दोस्रो श्रृंखलाको रुपमा प्रतिनिधिसभा बिघटन गरेको र उक्त असंवैधानिक, अलोक्तान्त्रिक, निरंकुस, स्वच्छाचारी, प्रतिगामी र राष्ट्रपति कदमको घोर भत्र्सना गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त बिज्ञप्ती नेपाली काँग्रेसका जिल्ला सभापति, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष लेखनाथ दाहाल राजन, नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य पाख्रिन, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरतबहादुर स्याङतान र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब हिरा श्रेष्ठले हस्ताक्षर गरी जारि गर्नु भएको हो ।