सिन्धुली११ बैशाख, – सदरमुकाम सिन्धुलीमाढीबाट एक दिन पैदल हिडेर आफ्नो घर पुग्ने सुनकोशी गाँउपालिका–७ निवासी दिपक दाहाललाई यतिखेर सदरमुकाम पानीपँधेरो जस्तै बनेको छ । घरछेउबाटै सडक निर्माण भएपछि काम पर्दा सदरमुकाम आउन–जान निकै सुविधा भएको उहाँको भनाई छ ।
सडककै कारण गाँउमा आफुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्रि गर्न निकै सजिलो भएको उहाँले बताउनुभयो । कृषक थापाले भन्नुभयो, “गाँउ–गाँउमा निर्माण भएका ग्रामीण सडकले स्थानीय जनजीवनलाई निकै सहज बनाएको छ । सडक बन्नुअघि यहाँका मानिसलाई काम पर्दा सदरमुकाम जाँदा पसिना काढ्दै सात घण्टासम्म लाग्थ्यो ।”
झन बीपी राजमार्गको सोलाभञ्ज्याङदेखि सुनकोशी गाँउपालिकाको नागिसम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरुसँगै स्थानीय बासिन्दा उत्साहित भएको छन् । उक्त सडकको आठ मिटर चौडाई कालोपत्रे गर्न अहिले धमाधम तयारी भई रहेको र बेस ओच्छ्याउने काम भई रहेको कमलामाई नगरपालिका ३ निवासी खिलप्रसाद सिग्देल बताउनुहुन्छ ।
पछिल्लो समयमा भई रहेको तीब्र विकासले सिन्धुली जिल्लाका दुई नगरपालिका र सात वटै गाँउपालिकाका गरि ७९ वडालाई सडक सञ्जालले जोडेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी भन्नुहुन्छ, “बर्षादको समयमा दुई÷चार वटा वडामा गाडि पुग्दैन । हिउदको समयमा त सबै वडामा गाडी पुग्छ ।” समितिका अनुसार जिल्लामा राष्ट्रिय आयोजना, तत्कालिन समयमा जिविस अनुदान, संसद विकास कोष, प्रदेश सरकार, स्थानीय तहको बजेटले जिल्लाको सबै वडामा सडक पुगेको हो ।
राष्ट्रिय आयोजनाका रुपमा रहेका जिल्लामा वीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग, चतरा–सिन्धुली–हेटौडा बैकल्पिक मार्ग, संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत अन्य विभिन्न दातृ निकायको सहयोगबाट जिल्लाका दुर्गमदेखि सुगम ठाँउहरुमा सडकको पहुँच पुगेका उहाँले जानकारी दिनुभयो ।
“अब सिन्धुलीका कुनै पनि वडा सडकको पहुँच बाहिर छैन,” कमलामाई नगरपालिकाका योजना अधिकृत भुपेन्द्रध्वज बस्नेत थप्नुहुन्छ,“ जिल्लामा निर्माण भएका सडकहरु मध्ये सबैभन्दा बढी वडा छुने निर्माधिन रहेका ठुला राजमार्ग नै छन् ।”
जिल्ला समन्वय समितिका अनुसार जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरबका सडक आयोजनाहरु मध्ये चतरा–सिन्धुली–हेटौडा बैकल्पिक मार्गले नगरपालिका र स्थानीय तहको १४ वटा वडालाई छोएको छ । मध्येपहाडी लोकमार्गले नौ वटा वडालाई छोएको छ । यस्तै वीपी राजमार्गले कमलामाई नगरपालिका र स्थानीय तहका आठ वटा वडालाई छोएको छ ।
ट्रयाक्टर भएपनि सबै वडामा पु¥याउन सिन्धुली सफल भएको सामाजिक विकासका अगुवा एवं गोलन्जोर गाँउपालिका ७ निवासी शरद आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउदयाममा सबै वडामा साना या ठुला सवारी पुगेका छन् । तर वर्षायाममा भने यि सबै वडामा सवारी पु¥याउन कठिन हुन्छ ।” वडामा जाने बजेट बाँडफाँड गर्दा पनि स्थानीय बासिन्दाको पहिलो रोजाईमा सडक नै पर्ने गरेको उहाँको भनाई छ ।
गाँउ–गाँउमा सडक पुगेपछि सदरमुकाममा पाईने दैनिक उपभोग्य सामग्री स्थानीयस्तरमा नै पाईन थालेको र त्यसले ग्रामीण जनजीवनलाई निकै सहज बनाएको स्थानीय बासिन्दा बताउछन् ।