बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अझै छुटेनन सिन्धुलीका बिप्लव समूहका नेता

शनिवार , फाल्गुण २९, २०७७

सिन्धुली,२९ फाल्गुण – सरकारले नेत्रबिक्रम चन्द(बिप्लव) समूहका नेता तथा कार्यकर्तालाई रिहाई गर्न सर्कुलर जारी गरेपनि सिन्धुली कारागारमा रहेका नौँ जना बिप्लव समूहका नेता–कार्यकर्ता अझै छुटेका छैनन् ।

सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो । बिप्लव समूहका नेता÷कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको कारगारका प्रमुख मात्रिकाप्रसाद पहाडीले बताउनुभयो ।

कारागारमा बिप्लव समूह सिन्धुलीका नेता हरिहरपुरगढी गाँउपालिका–२ निवासी बर्तबहादुर राई (शशि) सहित तराईका जिल्लाबाट ल्याएका नौ जना रहेका छन् । शशिलाई बमबिस्फोट र आगलागिको मुद्धा चलाईएको छ ।

महोत्तरी लोहारपट्टि नगरपालिका ४ निवासी हुसेनी कवारी, धनुषा हंसपुर नगरपालिका ७ निवासी पवन मण्डल, सिरहा गोलबजार नगरपालिका ६ निवासी ईन्दल यादब, धनुषाधाम नगरपालिका २ निवासी रामसुरेश महतो, मिथिला नगरपालिका २ निवासी गौरीनारायण मण्डल, धनुषाधाम नगरपालिका ५ निवासी मो. सनिम कवारी, छिरेश्वर नगरपालिका ४ निवासी रामगिर यादब र ईसुफ राईन रहेका कारागारले जनाएको छ । अधिकांसलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अंगभंग र बिष्फोटक पदार्थ सम्बन्धि मुद्धा चलाईएको बताईएको छ ।

बिप्लव समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो ।

यता जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले उनीहरुको मुद्धा जिल्ला प्रशासन कार्यालयमा नरहेको बताउनुहुन्छ । उहाँले अरु अभियोगमा अदालतमा मुद्धा चलि रहेकोले पनि उनीहरुलाई रिहाईका लागि सरकारी वकिलको कार्यालयबाट प्रकृया मिलाउनु पर्ने भएकाले ढिलाई भएको हुन सक्ने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया