सिन्धुली,१७ असोज – सिन्धुलीको तिनपाटन गाँउपालिका–२ निवासी बिष्णुबहादुर श्रेष्ठ अहिले घरमै बसेर चाउमिन बनाउने काम गर्नुहुन्छ । गाँउपालिकाले चाउमिन बनाउने तालिम दिएपछि उहाँको दैनिकी फेरिएको हो । “सिपको अभावमा पहिले फुर्सदिलो जीवन बिताउदै आएको थिए, तालिम लिएसँगै रोजगारी मिलेको छ,” उहाँले भन्नुभयो ।
तीनपाटन गाँउपालिकाले गत बर्ष सञ्चालन गरेको ‘उपाध्यक्ष उद्यमशीलता कार्यक्रम’ ले नै यतिखेर उहाँलाई रोजगारी दिएको हो । उहाँले भन्नुभयो, “तालिम लिएका सबै मिलेर सामूहिक चाउमिन उद्योग सञ्चालन गरेका छौं । महिनाको २०/२२ हजार रुपैयासम्म कमाई हुन थालेको छ ।”
उद्यमी श्रेष्ठका अनुसार चाउमिन बनाउने मेसिन भने उक्त कार्यक्रम अन्तर्गत गाँउपालिकाले निःशुल्क उपलब्ध गराएको छ । वडा नं. २ र ३ का गरि २८ जनाले चाउमिन बनाउने १५ दिने तालिम लिएका थिए । तालिम लिएपछि अनिबार्य व्यवसाय गर्नु पर्ने भनिएकाले अहिले सबै व्यवसायमा संलग्न छन् । उत्पादन भएको चाउमिन स्थानीय बजारका अतिरिक्त चकमके बजार, जिल्ला सदरमुकाम सिन्धुलीमाढी र बर्दिबाससम्म पुर्याएर बिक्रि गर्ने गरिएको छ ।
त्यस्तै उक्त कार्यक्रम अन्तर्गत नै १५ दिने दुनाटपरी बनाउने तालिम लिनु भएकी तीनपाटन गाँउपालिका–५ निवासी दिपा बस्नेत पनि यतिखेर व्यवसायमा संलग्न हुनुहुन्छ । वडा नं. १ र ५ का गरि २५ जनाले दुनाटपरी बनाउने तालिम लिएर र सबै मिलेर सामूहिक रुपमा उद्योग सञ्चालन गरेका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले नजिकको जंगलबाट सालको पात टिपेर ल्याउछौ । टपरिको लाफा बनाएर प्रतिगोटा एक रुपैया र दुनाको लाफा प्रतिगोट ५० पैसा (एक मोहर) मा बिक्रि गर्छौ ।” दुनाटपरी बनाउने मेसिन उक्त कार्यक्रम अन्तर्गत गाँउपालिकाले निःशुल्क उपलब्ध गराएको उहाँको भनाई छ ।
बे रोजगार व्यक्तिलाई उद्यमी बनाउन गत बर्ष सञ्चालित ‘उपाध्यक्ष उद्यमशीलता कार्यक्रम’ अन्तर्गत अहिले एक सय जना व्यक्तिले गाँउमै रोजगारी पाएका गाँउपालिकाले जनाएको छ ।
गाँउपालिका भित्रका युवालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ गत बर्षदेखि सुरु गरेको उपाध्यक्ष उद्यमसिलता कार्यक्रम अन्तर्गत विभिन्न चरणमा सिपमूलक तालिम दिईएको थियो । कुन वडामा के कस्तो व्यवसायको संभावना छ, त्यसको अध्ययन गरी स्थानीयको माग र संभाव्यताको आधारमा ढाका बुनाई, दुनाटपरी बुनाई, सिस्नोको धुलो बनाउने र चाउमिन बनाउने तालिम दिएको गाँउपालिका उपाध्यक्ष पदममाया तामाङले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रम सञ्चालन गर्न गत बर्ष ३५ लाख रुपैया बजेट बिनियोजन गरि विभिन्न गैरसरकारी संस्थामाफर्त खर्च भएको उपाध्यक्ष तमाङले बताउनुभयो ।
यस कार्यक्रम मार्फत गाँउपालिकाका बेरोजगार व्यक्तिहरु उद्यमशील, व्यवसायीक र आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । स्थानीयको माग र सम्भाब्यतालाइ मूलमन्त्र मानी कार्यक्रलाई बढी उपलब्धिमूलक एवं प्रभावकारी बनाउने लक्ष्य रहेको गाँउपालिकाले जनाएको छ । उत्पादित उत्पादनका लागि स्थानीय बजारलाई व्यवस्थित बनाउन तथा बजार व्यवस्थापन र प्रचार प्रसारमा गाँउपालिकाले नै सघाउने भएको छ । “उद्यमीहरुले उत्पादित वस्तु विक्रि भएन भनेर चिन्ता लिनै पर्दैन, त्यसको लागि दिगो योजना बनाएर अघि बढ्छौं,” उपाध्यक्ष तमाङले भन्नुभयो ।