शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

शुक्रवार , कार्तिक २७, २०८३

पोखरा, २७ कात्तिक- पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार दुर्घटनामा स्कुटरमा सवार दुवै युवकले ज्यान गुमाएका हुन्।

पोखरा महानगरपालिका–५ स्थित जिरो किलोमिटर नजिक दिउँसो करिब २ बजेर ५० मिनेटमा दुर्घटना भएको थियो। सडकमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपको पछाडिको भागमा ग२३प १७१६ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले बोलेरो जिपका चालक पोखरा–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईँलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न जिप र स्कुटरसमेत नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए।

दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया