सिन्धुली,१६ असोज – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरको खरको छाना हटाउन सुरु गरेको छ ।
कमलामाई नगरपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नगर क्षेत्रका घरबाट खरको छानो हटाउने कार्यक्रम समाबेस गरेकोमा सोही बमोजिम निःशुल्क जस्तापाता बितरण गर्न सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट छनौट भई सिफारिस भएर आएका घर परिवारलाई निःशुल्क आवश्यक जस्तापाता उपलब्ध गराईएको पनि उहाँले बताउनुभयो । नगरपालिकाका अनुसार १४ वटै वडा कार्यालयबाट छनौट भएका २३५ घरपरिवारलाई निःशुल्क बितरण गर्न यो बर्ष एक करोड रुपियाको जस्तापाता खरिद गरिएको छ ।
निःशुल्क जस्तापाता बितरण गर्न वडा नं. १ बाट १८ घर, वडा नं. २ बाट तीन घर, वडा नं. ३ बाट तीन घर, वडा नं. ४ बाट २३ घर, वडा नं. ७ बाट २४ घर, वडा नं. ८ बाट १८ घर, वडा नं. ९ बाट तीन घर, वडा नं. १० बाट २७ घर, वडा नं. ११ बाट २६ घर, वडा नं. १२ बाट ३४ घर, वडा नं. १३ बाट २४ घर र वडा नं. १४ बाट ३२ घर सिफिरिस भई आएको छ ।
यि मध्ये वडा नं. ४, ७, ९ र १२ का सिफारिस भई आएका घर परिवारले जस्तापाता लगि सकेको नगरपालिकाले जनाएको छ । आगलागि घट्नालाई न्युनिकरण गर्न र गरिब परिवारलाई सहयोग गर्न घरको छाना हटाएर निःशुल्क जस्तापाताले छाउने व्यवस्था मिलाएको सुचना अधिकारी लामाले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार १४ वटै वडामा रहेका करिब १३ हजार घरघुरी मध्ये दुई सय २० घरधुरीले बनाएको घरको छाना खरले छाएको पाईएको छ ।
वडा नं. १२ का अध्यक्ष ललितबहादुर आलेले उक्त वडामा छनौट भएका ३४ घर परिवारलाई बुधबार निःशुल्क जस्तापाता बितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै केही घर छुटेका छन् । उनीहरुको बिबरण संकलन गरी मंसिरसम्ममा बितरण गर्ने योजना छ ।”
घरमा जस्तापाता ठोक्न लाग्ने काठ र श्रम खर्च भने सम्बन्धित घरधनी आफैले व्यहोर्नु पर्ने उहाँको भनाई छ ।