सिन्धुली,२८ भदौ – कमलामाई नगरपालिका–६ धुराबजार निवासी तेजेन्द्र खड्काको दैनिकी साइकल यात्राबाट सुरु हुन्छ । साईकल यात्री खड्का सँधै विहान ५ बजे उठ्नु हुन्छ । “मुख धोएपछि साइकल लिएर निस्कन्छु,” उहाँले भन्नुभयो, “यसैलाई स्वस्थ रहने माध्यम बनाएको छु ।”
जिल्ला सदरममुकाम सिन्धुलीमाढीमा पछिल्लो समयमा आधुनिक मोडलका साइकलका सोखिनको बढ्दो समूह बीच खड्कालाई साथ दिन एक दर्जन बढी युवा अहिले एकत्रित भइसकेका छन । एक बर्षअघिसम्म खड्कालाई आफु मात्रै एक्लो साइकल यात्री जस्तो लाग्थ्यो । एक्लै कुदाउन थालेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “सुरुवातमा एक्लै थिए । बिस्तारै साथीहरू पनि जोडिदैछन ।”
सिन्धुली बजारमा साइकल क्लब बनाउने उद्देश्य साथ स्थानीय युवा हिजोआज नियमित साइकल यात्रामा कुद्ने क्रम बढ्दै गएको छ । सिन्धुलीमा बिस्तारै पुरानो वाहन साइकल क्रेज पनि बढ्दै छ । साइकल कुदाउनेहरू संगठित हुँदै ‘साइकल लेन’ पनि आफ्नो नगरमा बनाइनुपर्छ भन्दै कमलामाइ नगर र स्थानीय जनप्रतिनिधिहरुलाई सम्झाइ रहेका छन ।
समूह बढ्दै गएपछि खड्काकै अगुवाइमा छिट्टै सिन्धुली साइकल क्लब गठन गर्ने सल्लाह चलिरहेको युवा बताउछन । पहिला एक्लै साईकल यात्रामा निस्कदा खल्लो लाग्ने गरेकोमा अब साथीहरू बढ्दै गएपछि खड्का औधी खुशी देखिनु भएको छ ।

हिजोआज सिन्धुलीमा दिनदिनै साइकलमा घुम्न रुचाउने युवाको संख्या पनि बढ्दो छ । यसरी साइकल यात्रामा नियमित निस्कनेमा ज्योति बिकास बैंक सिन्धुली शाखाका म्यानेजर सविन श्रेष्ठदेखि इन्जिनियरहरु अम्मरदीप चौधरी, रोशन देवकोटा पनि रहेका छन ।
समृद्ध सिन्धुली अभियानका सौरभ ढकाल पनि साइकल यात्राका पारखी हुनुहुन्छ । धेरैजसो समय काठमाडौं बस्ने ढकाल हिजोआज सिन्धुलीमा बस्दै आउनु भएको छ । ढकालले भन्नुभयो, “ट्राफिक जामको तनाव नहुने, साइकलबाट कुदेपछि समयमै गन्तव्य पनि पुगिने ।” उहाँले फुर्सदको समयमा प्रायः आफ्नो परिबारसँग साँझ बिहान नियमित साइकल चलाउदै आउनु भएको छ ।
जिल्लाका युवाहरूमा साइकल क्रेज बढेपछि साइकल व्यवसायी राजन श्रेष्ठ पनि औधी खुशी बन्नुभएको छ । उहाँ पनि हिजोआज स्थानीय युवाहरूसँग नियमित साइकलमै यात्रा मै निस्किनु हुन्छ । उहाँको पसलमा ५ हजारदेखि ३८ हजार रुपैयाँसम्म पर्ने साइकल बिक्रीमा छन । साता दिनमै आधा दर्जनभन्दा बढी साइकल बिक्री भएको उहाँले सुनाउनुभयो ।
लकडाउन यता मात्रै उहाँले दर्जन बढी साइकल बेचि सक्नु भएको छ । साइकल चलाउँदा ढाड दुखाइ, ग्यास्ट्रिक र घुँडा दुख्ने समस्या निको हुने युवाको दाबी छ । साइकल चलाउनेको शारीरिक बनावट राम्रो राख्न र शरीरका सबै नसा चलायमान बनाउन उपयुक्त माध्यम भएको चिकित्सकहरुको पनि भनाइ छ ।
सिन्धुलीमा स्वस्थ रहन बिहान हिँड्ने, योग गर्ने, जिमखाना जाने चलन पनि छ । शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न करसत लगायत शारीरिक गतिविधि आवश्यक रहेको स्वास्थ क्षेत्रका जानकारको भनाइ छ । यस्तोमा विकल्पका रूपमा हिजोआज सिन्धुलीमा ‘साइक्लिङ’ देखिएको छ ।
सिन्धुलीमा अहिले इन्जिनियर, व्यवसायी, सञ्चारकर्मी र वित्तीय कर्मचारी समेत साइकल चलाएर स्वस्थ रहने अभियानमा जुटेका छन् ।