शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा शिक्षाको अवस्था,प्राविका शिक्षकले उच्च माविसम्म पढाउछन्

शनिवार , भाद्र २७, २०७७

सिन्धुली, – सिन्धुली जिल्लामा सरकारी अनुदनमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा सरकारीस्तरबाट शिक्षकको व्यवस्था हुन नसक्दा पठनपाठन कार्य प्रभावकारी हुन सकेको छैन ।

जिल्लामा बर्सेनि विद्यालयमा भर्ना भई पढ्ने विद्यार्थीको संख्या बढ्दो भएपनि सोही अनुपातमा शिक्षकको व्यवस्था सरकारीस्तरबाट हुन नसक्दा उक्त समस्या आएको स्थानीय अभिभावकहरु बताउछन् । कतिपय विद्यालयले सरकारी शिक्षकको अभावमा निजी स्रोतबाट तलब व्यहोरेर शिक्षक राखेर पठनपाठन कार्यलाई सुचारु गरिएको जनाएका छन् ।

दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा प्रावि ३६२, निमावि ८१ र मावि १२० गरी कुल ५६३ वटा सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ ।

केन्द्रका अनुसार यि विद्यालयमा बालविकास केन्द्रमा सात हजार १७९ जना, प्रावि तहमा ३६ हजार ४२ जना, आधारभुत तह (६ देखि ८) मा १९ हजार आठ जना, मावि तहमा ११ हजार ५१६ जना र मावि तह (११ र १२) मा पाँच हजार २८२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जिल्लामा अहिले मावि, निमावि र प्राविमा गरी सामुदायिक विद्यालयको दरबन्दीमा कुल एक हजार २४८ जना शिक्षक कार्यरत रहेको छन् । ती मध्ये प्राविमा ९४८ जना, निमाविमा १५५ जना र माविमा १४५ जना शिक्षक दरबन्दीमा कार्यरत रहेको ईकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

उहाँले मावि र निमाविको दरबन्दी पछिल्लो समयमा नआएकाले योग्यता भएका तल्लो तहका शिक्षकले माथिल्लो तहसम्म पढाएर पठनपाठन कार्य सुचारु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा ३९ वटा माविमा मावि तह र राहतको दरबन्दी शुन्य रहेको छ । त्यस्तै ८२ वटा निमावि र २१ वटा प्राविमा तह अनुसारको दरबन्दी शुन्य रहेको छ ।”

जिल्लामा रहेका मावि मध्ये २४ वटा विद्यालयमा मात्रै न्युनतम दरबन्दी पुरा भएको र ९४ वटा विद्यालयमा चाहिने जति दरबन्दी नभएको उहाँले जानकारी दिनुभयो । ईकाई प्रमुख गजुरेलका अनुसार प्रचलित शिक्षा नियमावली २०५९ ले कक्षा १ देखि ३ सम्म चलेको विद्यालयमा दुई जना, कक्षा १ देखि ५ सम्म चलेको विद्यालयमा तीन जना, कक्षा १ देखि ८ सम्म चलेको विद्यालयमा चार जना र माविमा न्युनतम पाँच जना शिक्षकको दरबन्दी हुनु पर्ने अनिवार्य व्यवस्था गरेको छ ।

दुधौली नगरपालिकास्थित सरस्वती मावि डकाहाका प्रधानाध्यापक रेशकुमार मुक्तान प्रावि तहमा कार्यरत शिक्षकले पनि उच्च मावि तहसम्म पढाई रहेको जानकारी दिनुहुन्छ । विद्यार्थीले पढ्ने बिषयहरु धेरै भएको तर बिषयगत शिक्षक राख्न नसक्दा उक्त समस्या आएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “आर्थिक समस्याले गर्दा नै बिषयगत शिक्षक राख्न गाह्रो छ । शिक्षक राखेर मात्रै भएन, भोली तलब पनि दिन सक्नु प¥यो । बिषय धेरै, दबरबन्दी थोरै हुदा बाध्यता बनेको छ ।” पठनपाठन कार्यलाई सुचारु गर्न निजीस्रोतबाट व्यहोरेर शिक्षक राख्दा कतिपय विद्यालयलाई आर्थिक भार थाम्न कठिन हुने गरेको उहाँको बुझाई छ ।

त्यस्तै, नेपाल शिक्षक संघका पूर्वसचिब नारायणकुमार कार्की जिल्लामा रहेका अधिकांस प्रस्तावित मावि सरकारी दरबन्दीका शिक्षकको अभावमा निजी स्रोतका शिक्षकको भरमा चल्दै आएको बताउनुहुन्छ ।

त्यस्ता माविमा कार्यरत शिक्षकलाई तलबको व्यवस्था गर्न स्थानीय अभिभावकले द्यौसि खेल्ने गरेका, स्थानीय तहसँग बजेटको माग र चन्दा संकलन लगाएतका कार्य गर्ने गरेका जानकारी दिदै उहाँले भन्नुभयो, “राहत शिक्षक कोटाका कारण कतिपय विद्यालयलाई केहि राहत भने हुदै गएको छ ।”

तह अनुसार शिक्षकको व्यवस्था गर्न नसकेको विद्यालयमा प्राथमीक तहको योग्यता भएका शिक्षकले पनि माध्यमिक तहसम्म पढाउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया