सिन्धुली,२२ भदौ – कोरोना म हामारीको त्रासका बीच सिन्धुली जिल्लाको विभिन्न ठाँउमा सडक निर्माणको कामले तीब्रता पाएको छ ।
आवश्यक स्वास्थ्य स र्तकता अपनाउदै जिल्लाका विभिन्न स्थानमा करोडौंको लगानीमा सडक निर्माण थालिएको हो । बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामदेखि ग्रामीण भेगसम्म पुग्ने सडकको काम अहिले तीव्र रुपमा भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयका अनुसार कमलामाई नगरपालिकाको सिन्धुलीगढी–नागी सडक, सिन्धुलीगढी–तारुफेदि–चपौली–खुर्कोट जोड्ने सडकको काम अघि बढेको छ । प्रदेश सरकारकै लगानीमा सिन्धुलीगढी सोलाभञ्ज्याङ हुँदै नागी मझुवासम्मको सडकको निर्माण कार्य तीव्ररुपमा अघि बढीरहेको चपौलीका बासिन्दा सन्तोष कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो सडक बागमती प्रदेश सरकारको २१ करोड सहयोगमा निर्माण सुरु गरिएको हो । कालोपत्रे सहित निर्माण गरिने १० किलो मिटर लम्बाईको उक्त सडकको काम हालसम्म ४० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडक कालोपत्रे गरिसक्ने लक्ष्य छ ।”
कमलामाई नगरपालिका–३ तारुफेदिदेखि चपौली हुँदै खुर्कोट जोड्ने सडकको पनि निमार्ण कार्य सुरु गरिएको छ । भदौ पहिलो सातादेखि सुरु गरिएको निर्माण कार्य चालु आर्थिक वर्षमा नै सम्पन्न गरिने बताइएको छ । सो सडकको ग्रावेलसम्मको कामका लागि प्रदेश सरकारको २१ करोड रुपैया सहयोग उपलब्ध भएको प्रदेश सभा सदस्य विनोद खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिका–७ बुद्धनगर चोक हुँदै कमलामाई नगरपालिका–१२ जिर्घा जाने सडकको पनि निमार्ण सुरु हुने भएको छ । बागमती प्रदेशको ५६ करोड लागतमा बुद्धनगर चोक–भिमस्थान–चकमके–कटारी हुँदै जिर्घासम्मको १५ किमि सडक कालोपत्रे गर्ने योजना रहेको छ ।
कमलामाई नगरपालिका–४ मल्लागाँउमा पनि एक करोड ९५ लाख रुपैयाको लागतमा कालोपत्रे सहितको सडक निर्माणको काम सुरु भएको स्थानीयले जनाएका छन् ।