सिन्धुलीमा निर्माणाधिन ५० बेडको आईसोलेसन भवनको डिजाइन
सिन्धुली,८ भदौ – यहाँको कमलामाई नगरपालिका–६ शिबनगरमा ५० बेड क्षमताको आईसोलेशन भवन बनाउन सुरु गरिएको छ । बुधबारदेखि सुरु भएको भवन निर्माणमा प्रदेश सांसाद स्वयम् जनश्रमदानमा दैनिक लागि पर्नु भएको छ ।

आइतवार दिउसो केहि सञ्चारकर्मी भवन निर्माणस्थल पुग्दा नेकपाका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल(राजन) भवन निर्माणस्थलमा श्रम गर्दै हुनु हुन्थ्यो । भवन बनाउन थालिनै सकियो, अब हामी सबै जुटेर पुरा गर्नुपर्छ त्यसैले आफै दैनिक श्रम गर्न जुटेको हुँ, उहाँले सुनाउनु भयो । सांसद दाहाल श्रमदान मात्रै गरिहनु भएको थिएन्, टिफरले झार्दै गरेको इट्टाको क्वालिटी समेत नियाल्दै हुनु हुन्थ्यो । यहाँ धेरै इट्टा झार्नुपर्ने हुन्छ, कमसल पर्न पनि सक्छ त्यसैले सामाग्रीको गुणस्तरमा समेत ध्यान दिन जरुरी छ, उहाले भन्नु भयो ।
[caption id="attachment_99754" align="alignnone" width="960"]
भवनको भित्री स्वरुप[/caption]
तीन सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आइसोलेसन भवन निर्माणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ९७ लाख रुपैया उपलब्ध गराउने भएको छ । इनिजनियरीङ इस्टमेट अनुसार तीन करोड बढी लाग्ने अनुमान गरिएको भवनलाई बाँकी रकम कसरी जोहो गर्ने भन्ने अन्यौलनै रहेको भवन निर्माण समितिले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको निर्माण हुन लागेको उक्त भवनमा तीन वटा आईसियु बेड सहित ५० बेडको आइसोलेसन बन्ने प्रदेश सांसद दाहालले बताउनु भयो । हाम्रो अनुमानित तीन करोड ३६ लाखको लागत देखिएको छ । यसमा हामी सबै मिलेर श्रम गर्दा दुइ करोड हाराहारीमै भवन बन्ने विश्वास लिएका छौ, उहाँले भन्नु भयो, “तत्कालिन अवस्थामा कतैबाट पनि बजेट आएको छैन, हामी स्वयम् जवाफदेहि भएर निर्माण सामाग्री ल्याएका छौ । बागमती प्रदेश सरकारले ९७ लाख दिने प्रतिवद्धता जनाएको छ, बाँकी रकम स्थानिय तह बाट जुटाउने लक्ष्य राखेका छौ, तर हामी सुरुमै कुनैपनि स्थानिय तहसँग बजेट माग्दैनौ, काम पुरा भएपछि अनुरोध गछौँ ।”

आइसोलसन भवन जिल्ला अस्पताल माताहत सञ्चालन हुने अस्पताल विकास समितिले जनाएको छ । भवन निर्माणका लागि जिल्लाका सरोकारवालाहरुको भेलाले निर्माण समिति र अनुगमन समिति बनाएको छ । जसअनुसार भवन निर्माण समितिको संयोजकमा रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति असोक श्रेष्ठ रहनु भएको छ । निर्माण समितिका संयोजक श्रेष्ठका अनुसार निर्माणको काम धमाधम भइरहेको छ । निर्माण समितिमा वडा अध्यक्ष उज्वलकुमार थापा, उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, निर्माण व्यवसायि संघका अध्यक्ष तुल्सीराम श्रेष्ठ, निर्माण व्यवसायि उद्धवप्रसाद दाहाल लगायत हुनु हुन्छ ।

यस्तै भवन निर्माणमा गठन गरिएको अनुगमन समितिमा प्रदेश सांसदहरु लेखनाथ दाहाल(राजन), विनोदकुमार खड्का,प्रदीप कटुवाल, बुद्धिमान माझी, जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेल, नेपाली काँग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बराल, जनता समाजवादी पार्टीका मोदनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघका राजन कार्की हुनु हुन्छ ।
