सिन्धुली,१९ असार– अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहले पार्टीनै विभाजन हुन सक्ने संभावना निम्त्याएको छ । प्रधानमन्त्री केपी ओलीसँग पार्टीका शिर्ष नेताहरु चिढिएका छन् । प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने आवाजहरु पनि उठेको छ ।
प्रधानमन्त्री र अध्यक्ष नछोड्ने ओलीको हठ र प्रचण्ड लगायत असन्तुष्ट नेताहरुको ओलीले राजीनामा दिनैपर्ने दबाबले पार्टी एकतानै भंग हुने अड्कलबाजी गरिएको छ ।
यता, सिन्धुलीका नेकपा नेताहरुले भने पार्टी विभाजन हुन नहुने बताइरहेका छन् । शुक्रबार मात्रै पनि सिन्धुली क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद गणेश पहाडी सहित युवा नेताहरुको भेलाले पार्टी विभाजनको विपक्षमा खबरदारी गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वती गुरुङसहित युवा केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले पार्टीका मुख्य नेताहरुलाई पार्टी विभाजनको विपक्षमा खबरदारी गरेको हो । उनीहरुले शनिबार पनि भेला भएर नेतृत्वलाई दबाब दिने भएका छन् ।
बैठकमा मन्त्री गुरुङ, यज्ञराज सुनवार,गणेश पहाडी, लीलानाथ श्रेष्ठ, सुरेशकुमार राई, कमला रोक्कालगायत सहभागी थिए । त्यसैगरि, सिन्धुलीका प्रदेश सांसद प्रदिप कटुवालले पनि पार्टी विभाजनको विरुद्धमा अभिव्यक्ति दिनुभएको छ । उहाँले समाजिक संजाल फेसबुकमा लेख्नुभएको छ, “कम्युनिस्ट पार्टी बनाउन शिद्धान्त, संगठन, सघर्ष र एकता चाहिन्छ । ती सबै विधि मानेरै जनाता का समस्या समधान गर्दै योजनाबाट हामी सबै यहाँ आई पुगेका हौ । अब फेरि भुल्नुहुदैन कसले योगदान कति गरे एकता गर्दा को विधि अनुशाासित भएर हेक्का गरौँ, समस्या समाधान हुन्छ । कुनै बेला प्रजातान्त्रिक अभ्यास गर्दाको परिणाम एकता गर्ने बेलाको अबस्थालाई स्मरण गरि पुन गन्तव्य पहिल्याउन नेता, नेतृत्वलाई सुझाब छ एकता, एकता ।”