बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

ऐतिहासिक मतदानमा हरिबोल नजानुमा रहस्यनै रहस्य

आइतवार , जेठ ३२, २०७७

सिन्धुली,३२ जेठ – नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शनिबार प्रतिनिधि सभा बैठकमा संविधान संसोधनकालागि मतदान गर्न सिन्धुली क्षेत्र नं २ का सांसद हरिबोल गजुरेल उपस्थित नभएपछि शंकाको घेरामा तानिनु भएको छ ।

संघीय संसद भवनमा भएको मतदानमा दुई सय ५८ सांसदले मतदान गरेपनि सत्तारुढ दल नेकपाका शिर्ष नेता गजुरेल अनुपस्थित भएपछि उहाँ आलोचित हुन पुग्नुभएको छ ।

संविधान संसोधन सर्वसम्मत पारित भएपनि सिन्धुलीका सांसदले मतदान नगरेको भन्दै विरोध भएको हो । ऐतिहासिक मतदानका क्रममा संसदमा सिन्धुलीको प्रतिनिधित्व नभएको भन्दै जिल्लावासी गजुरेलप्रति खनिएका छन् ।

मतदानमा सहभागी नभएको भन्दै विरोध भएपछि गजुरेलको सचिवालयले वक्तव्य सार्वजनिक गरेपनि संविधान संसोधनप्रति उहाँको समर्थन रहे/नरहेको उल्लेख गरिएको छैन । “माननीय हरिवोल गजुरेल यही जेष्ठ २८ गते बुधबार जिल्लाको विशेष कामको सिलसिलामा हेटौंडा गएको बेला ट्वाईलेटमा चिप्लिएर लड्दा हिप र मेरुदण्डमा गम्भीर चोट लागेकाले आज भएको ऐतिहासिक संविधान संसोधन विधेयक पास गर्ने बैठकमा सहभागी हुन नसकेको कुरा दुःखका साथ नेकपा दलका मुख्य सचेतक देव गुरुङलाई जानकारी गराएको कुरा आदरणीय जनसमुदाय र पार्टीपंक्तिमा जानकारी नहुदा पर्न गएको भ्रमप्रति सचिवालय क्षमाप्रार्थी छ । घटना र विषयको सत्य र गहिराइमा नपुगी सतही टिप्पणी गर्ने र आक्षेप लगाउने काम गरेर लज्जित हुने काम कसैले नगर्नुहुन अनुरोध छ ”– वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा आफू के कारणले उपस्थित नभएको बारेमा उल्लेख गरिएपनि संविधान संसोधनका बारेमा भने गजुरेलको सचिवालय मौन देखिएको छ ।

वक्तव्य सार्वजनिक भएसँगै झनै रहस्य थपिएको सिन्धुली सौगातलाई नाम नखुलाउने शर्तमा नेकपाका एक नेताले बताए । उनले भने, “ऐतिहासिक मतदानमा सहभागी हुनुभएन । विरोधपछि लडेको भन्दै वक्तव्य जारी भयो । तर, वक्तव्य आएपनि संविधान संसोधनको समर्थन गर्नुभएन । गजुरेलको रवैया शंकास्पद छ ।”

त्यसैगरि, सिन्धुलीमा गजुरेलप्रति नकारात्मक टिप्पणी गर्नेक्रम बढिरहेको छ । जिल्लाबाट संसदमा पठाइएका गजुरेलले राष्ट्रियताको सवालमा जिल्लाको प्रतिनिधित्व नगरेको आरोप उहाँलाई लागेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ का अनिल खड्काले भन्नुभयो, “सिन्धुलीबासीले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी किल्लामा घुँडा टेकाएर देश जोगाएका थिए । सिन्धुलीले असली कर्मवीरको वीरताको गाथा बोल्छ । तर, सिन्धुलीबाट निर्वाचित सांसदले भने आफ्नै देशको भुभाग फिर्ता ल्याउन गरिएको पहलमा समेत मतदान गरेनन् ।” उहाँले सांसद गजुरेलको रवैया ठिक नभएको पनि बताउनुभयो ।

यस्तै, सिन्धुलीका प्रतिपक्ष दलका नेताहरुले समेत गजुरेल अनुपस्थित हुनुमा शंका गरेका छन् । समाजिक संजालमा एक नेताले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘लडेको खबर आएपनि तस्बिरहरु सार्वजनिक भएन ।’

बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना हुनुहुन्छ । गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित हुनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहनुभयो । यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव अनुपस्थित रहनुभयो ।

प्रतिक्रिया