शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने, निर्णयबाट पछि हट्यो सरकार

बिहिवार , चैत्र २७, २०७६

काठमाडौं ,२७ चैत - लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । को’रोना भा’इरस सं’क्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो ।

तर, पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा असहमति जनाएपछि निर्णय फिर्ता लिइएको हो । ‘लकडाउनका कारण काम नभएर काठमाडौंमा फसेका व्यक्तिलाई घर पठाउने भनेर केही दिन अगाडिदेखि नै छलफल हुँदै आएको थियो । तर, बिहीबार निर्णय भयो भनेर बाहिर आयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेका छौं । यातायात मन्त्रालयले पनि अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेर भनेको छ ।’

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्- भाेलि र पर्सि सवारीसाधन चल्न पाउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय आएकाे छैन। आएमा जानकारी गराइनेछ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका संयोजकसहित केही मन्त्रीहरुको बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने अनौपचारिक निर्णय गरेको थियो।

रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बैठकको निर्णय सार्वजनिक गरे पनि लगत्तै गृह मन्त्रालयले त्यस्तो निर्णय नभएको बताएको हो। स्रोतका अनुसार गृह मन्त्रालयमा अहिले गृह मन्त्रीस्तरको बैठक बसिरहेको छ।

लकडाउनका कारण १७ ओँ दिनदेखि ठप्प देशमा अचानक उपत्यका छाड्न दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो।

रक्षा मन्त्रालय स्रोतका अनुसार भने बिहीबार रक्षा मन्त्रालयमा भएको बैठकमा शुक्रबार र शनिबार गरी २ दिन काठमाडौंमा रहेका व्यक्तिलाई आ–आफ्नो घर जान दिने विषयमा समझदारी भने बनेको थियो । तर, त्यसले संक्रमण फैलिने जोखिम झन बढ्ने भएपछि निर्णय फिर्ता लिइएको हो ।

प्रतिक्रिया