शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सुपथ मूल्यको घुम्ति पसल एक साता पनि टिकेन

शनिवार , चैत्र २२, २०७६

सिन्धुली,२२ चैत – लकडाउनको समयमा उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य बस्तु पुर्‍याउन सिन्धुली उद्योग बाणिज्य संघले सुरु गरेको सुपथ मूल्यको घुम्ति पसल एक साता पनि नटिकी बन्द भएको छ ।

उपभोक्ताले खुद्रा सामान नदिई थोक सामान भिडाएको भन्दै गुनासो गरेपछि सुपथ मूल्यको घुम्ति पसल शुक्रबारदेखि बन्द गर्नु परेको उक्त संघले जनाएको छ । संघका अनुसार कमलामाई नगरपालिकाको चैत १५ गते बसेको सर्बपक्षिय बैठकले लकडाउनका समयमा सुपथ मूल्यको घुम्ती पसल सञ्चालन गर्ने जिम्मा सिन्धुली उद्योग बाणिज्य सङघलाई दिएको थियो । भोलि पल्ट आईतबारदेखि उक्त पसल सञ्चालन भएको थियो ।

कमलामाई नगरपालिका–४ ढुंग्रेबास निवासी उपभोक्ता केसब दाहाल उक्त सुपथ मूल्यको घुम्ति पसल सञ्चालनबाट लकडाउनको समयमा उपभोक्ताले राहत पाउनुको सट्टा मौका छोपेर व्यापारीले कमाउन खोजे जस्तै देखिएको बताउनुहुन्छ ।

“गरिब, बिपन्न व्यक्तिले लकडाउनको समयमा काम गरेर कमाउन पाएका छैन्न । उनीहरुले यो समयमा कसरी हुन्छ, जसोतसो गुजरा चलाउने हो,” उहाँले भन्नुभयो, “पाच केजी चामल किन्न जाँदा एक बोरा नै, एक लिटर तेल किन्न खोज्दा एक कार्टुन नै, एक/दुई वटा चाउचाउ किन्न खोज्दा कार्टुन नै त भिडाउनु भएन नी । यस्तै देखियो ।”

हुनेखाने व्यक्तिले आफुलाई चाहिने आवश्यक समान पहिले नै किनेर सुरक्षित साथ बसेपनि गरिब र निमुखा वर्गका व्यक्तिले आफ्नो क्षमता अनुसार दैनिक उपभोग्य सामान किनेर गुजरा चलाउने उहाँको भनाई थियो ।

ट्रकमा सामान् राखेर सञ्चालन गरेको उक्त घुम्ति पसलबाट पछिल्लो समयमा उपभोक्ताले सामान् किन्नुको सट्टा व्यापारीले नै सामान किनेर फाईदा लिएका स्थानीयको भनाई छ । सुपथ मूल्यको घुम्ति पसल सदरमुकाम सिन्धुलीमाढीस्थित मिलन चौक, सांबाले, खट्टार, कुडुले, ढुंग्रेबास, माझीटार, पानीट्याङकी लगायतका ठाँउमा सञ्चालन गरिएको जनाईएको छ ।

संघका अध्यक्ष अम्रेशचन्द्र बैदार सुपथ मूल्यको घुम्ति पसल जस्का लागि सञ्चालन गरिएको, उनीहरुलाई नै चित्त नबुझेपछि पाँच दिन चलाएर बन्द गरेको बताउनुहुन्छ । लकडाउनको बेला एक किलो चिनी, एक किलो दाल प्याकिङ गर्न मानिस नभएकोले बाध्यात्मक स्थितीले बोरा नै बेच्नु परेको उहाँको भनाई छ ।

उपभोक्ताको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालुेपछि घुम्ती पसल सुरु गरिएको उहाँले सुनाउनुभयो । अध्यक्ष बैदारले भन्नुभयो, “घुम्ती पसल बन्द भएपछि बिहान ८ बजेपछि १० बजेसम्म र दिउसो ३ बजेदेखि ५ बजेसमम पसल खोलेर वरिपरीका उपभोक्तालाई सामान् बिक्री गर्ने व्यवस्था मिलाएका छौं ।”

प्रतिक्रिया