सिन्धुली,१९ चैत – सिन्धुलीको कमलामाई नगरपालिका–४ मिलनचोक फाँटका एक बर्षअघि उत्पादन सुरु गरिएको ईन्टरलक इँटाको माग बढ्दै गएको छ ।
उक्त इँटाको प्रयोगबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो, गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने भएपछि उपभोक्ताहरु आकर्षित भएका हुन् । जिल्लामै पहिलो पटक भित्रिएको नयाँ प्रविधिको ईन्टरलक इँटाको मुख्य बजार भनेको यतिखेर जिल्ला सदरमुकाम सिन्धुलीमाढी र आसपासका गाँउ रहेका छन् ।
एक करोड रुपैयाँ लगानी गरी २०७५ साल माघ २८ गते उद्योगको रुपैमा स्थापना भएको ‘सिन्धुली ईक्योसेयल प्रा.लि.’ ले अहिलेसम्म झण्डै ६० हजार ईन्टरलक इँटा उत्पादन गरी बिक्री गरी सकेको जनाएको छ । उद्योगका अध्यक्ष जिवन देवकोटाका अनुसार तीन जना मिलेर लगानी गरी उक्त उद्योग स्थापना गरी इन्टरलक इँटा उत्पादन सुरु गरेको हो ।
बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इन्टरलक इँटा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको बताइएको छ । नयाँ–नया भएको र बजारको पनि चु’नौती भएकोले दैनिक क्षमता अनुसार अहिले उक्त इँटा भने उत्पादन नभई रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक १५ सय ईटा उत्पादन गर्ने उद्योगको क्षमता छ । तर अहिले एक हजार मात्रै उत्पादन हुदै आएको छ । यो लगानी अनुसारको उत्पादन थोरै हो ।”’
उत्पादन भएजति इँटा सबै बिक्री भई सकेको र माग पनि राम्रो रहेको उहाँले सुनाउनुभयो । उद्योगका अध्यक्ष देवकोटाका अनुसार इन्टरलक इँटाको कच्चा पदार्थ सबै स्थानीय सामग्री जस्तै रहेको छ । उक्त इँटाको प्रतिस्पर्धा पनि रातो इँटासँग हो । एक टिप कच्चा पदार्थको कर नगरपालिकाले चार हजार रुपैयासम्म लिने गरेकोले इन्टरलक इँटाको लागत बढ्ने गरेको छ ।
रातो इँटाभन्दा सस्तो मूल्यमा ईन्टरलक इँटा दिने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातो इँटाभन्दा तीन भाग ठूलो ईन्टरलक इँटा अहिले प्रतिगोटा ४५ रुपैया २० पैसामा बिक्री भई रहेको छ । झट्ट हेर्दा उक्त इँटा रातो ईटाभन्दा मँहगो देखिए पनि घर निर्माण सक्दा कुल लागतमा सस्तो पर्न जान्छ ।”
उहाँका अनुसार ईन्टरलक इटा प्रयोग गरी घर निर्माण गर्दा प्लास्टर गर्नु पर्दैन । प्लास्टर गर्नु नपरेपछि सिमेन्ट, बालुवा र कामदारको ज्याला जोगीदा सस्तो पर्न गएको हो । बहुउपयोगी रहेको इँटाको सदरमुकाम सिन्धुलीमाढीमा निर्माण हुने निजी, सार्वजनिक भवनमा सफल प्रयोग भइसकेको उद्यमी जिवन देबकोटले जानकारी दिनुभयो । कारोवार झण्डै २० लाख रुपिया बराबरको भई सकेको जनाइएको छ ।
छिटोछरितो, आकर्षक, भू’कम्प प्र’तिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँटा निकै उपयोगी छ । इँटा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले माग अनुसार पूर्ति गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । उक्त उद्योगमा प्रत्यक्ष रुपमा सात जना र बाहिर काम गर्ने लेबर मिस्त्री गरी २२ देखी २५ जनाले रोजगार पाएका छन् ।
अबको तीन बर्षभित्र लगानी उठाउने लक्ष्य रहेको जानकारी दिदै उद्यमी देवकोटाले भन्नुभयो, “काठमाडौँबाट प्राविधिक झिकाई कारखानामा नै ईन्टरलक ईटा उत्पादनको २५ दिने तालिम लिएर व्यवसाय सुरु गरेका हौं ।” इँटाको गुणस्तर मापन भइसकेको र सरकारी प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँटा प्रयोग गर्न मिल्ने जनाइएको छ ।