शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली सुपथ मूल्यको घुम्ति पसलप्रति उपभोक्ता आकर्षित

सोमवार , चैत्र १७, २०७६

सिन्धुली,१७ चैत– उद्योग बाणिज्य सङघले लकडाउनको समयमा उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य बस्तु पुर्‍याउन आईतबारदेखि सुरु गरेको सुपथ मूल्यको घुम्ति पसलप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

सुपथ मूल्यको घुम्ति पसल सोमबार कमलामाई नगरपालिकाको विद्युत चौक, माझीटार, बर्देउटार, डाँडाटोल, रातमाटा प्लानिङ, पानीट्याङकी, ढुंग्रेबास, मिलन चौक र खट्टारमा सञ्चालन गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । आईतबार मिलन चौक, सांबाले, खट्टार, कुडुले र डाडी क्षेत्रमा उक्त पसल सञ्चालन गरिएको थियो ।

पहिलो दिन घुम्ति पसलमा बेच्न लिएर हिडेको एक ट्रक दैनिक उपभोग्य बस्तु दुई घण्टामा नै सकिएपछि दोस्रो दिन सोमबार दुई ट्रक सामान बेचेको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

लक डाउनका कारण घरबाट बाहिर हिड्न नपाएका उपभोक्ताहरुले घर आँगनमै सामान पाउदा हारालुछ गरी किनेको उहाँले सुनाउनुभयो । रुट बनाई अगाडी माईकिङ गर्दै प्रचार प्रसार गर्दै हिड्ने र पछाडी ट्रकमा सामान बिक्री गर्दै हिडेको सङघले जनाएको छ । चामल, दाल, चिनी, तेल, आलु, बिस्कुट लगायतका उपभोग्य बस्तु उपभोक्ताले घरमै पाएका छन् ।

सङघका अनुसार कमलामाई नगरपालिकामा शनिबार बसेको सर्बपक्षिय बैठकले उक्त पसल सञ्चालन गर्ने जिम्मा सिन्धुली उद्योग बाणिज्य संघलाई दिएको छ । नगर क्षेत्रका भित्री गाँउलाई लक्षित गरी उक्त पसल सञ्चालन गरिएको हो । लकडाउनले उपभोक्ताको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि घुम्ती पसल सुरु गरिएको बताईएको छ ।

प्रतिक्रिया