सिन्धुली,१४ चैत – सिन्धुली जिल्लामा कुखुरापालन व्यवसाय सङकटमा परेको छ । खोरमा उत्पादित कुखुरा लकडाउनका कारण बिक्री ठप्प हुनुका साथै दानाको अभाव भएपछि कुरापालन व्यवसाय नै संकटमा परेको व्यवसायिले बताएका छन् । कमलामाई नगरपालिका–४ दोभानटार निवासी कुखुरा पालक किसान रामचन्द्र कार्की आफ्नो खोरमा अहिले दुई सय ब्रोईलर कुखुरा ६० दिन बढीको भएपनि लकडाउनका कारण बिक्री ठप्प रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “लकडाउनका कारण दाना पनि अभाव हुदै गएको छ, कुखुरा बिक्री गर्न सबै मासु पसल बन्द हुनाले सएिको छैन । अहिले व्यक्तिगत सम्पर्क गरेर घर घरमा कुखुरा पुर्याउन सुरु गरेको छु ।”साँढे तीन किलोभन्दा माथिका कुखुरा खोरमा रहेको र पोथि प्रतिगोटा छ सय रुपैया तथा भाले प्रतिगोटा सात सय रुपैयामा घरमै पुर्याई दिने गरेको उहाँले सुनाउनुभयो ।त्यस्तै कमलामाई नगरपालिका–५ सिलामे निवासी कुखुरा पालक किसान गोबिन्द खड्का पनि आफ्नो फर्ममा रहेको आठ हजार कुखुरालाई दानाको अभाव भएको बताउनुहुन्छ । “दैनिक १५/१६ बोरा दाना दिने गरेको थिए, अहिले दुई बोरा दिएर ज्यान बचाएर राखेको छु,” उहाँले भन्नुभयो, “कुखुरा कराको सुनेर खोरमा जानै छाडेको छु ।”व्याबसायि खड्काको खोरमा अहिले १५ दिनको तीन हजार र २८ दिनको पाँच हजार ब्रोईलर कुखुरा रहेका छन् ।

त्यस्तै कमलामाई नगरपालिका–५ मधुटारका निरु श्रेष्ठपनि आफ्नो खोरमा बिक्रीको लागी तयारी अवस्थामा १२ सय कुखुरा छ तर न बिक्री हुन्छ न दाना छ उहाँको गुनासो छ ।
अहिले सदरमुकाम सिन्धुलीमाढी मात्रै ३० हजार भन्दा बढी मासुका लागि तयारी ब्रोईलर कुखुरा रहेको र कुखुरा उठाउन नपाउदा किसान मरिहरेको उहाँले सुनाउनुभयो । दाना ढुवानी गर्ने र कुखुरा उठाउन दिने बाताबरण सिर्जना नभए कुखुरा खाल्टोमा गाडेर साद्धे नहुनुका साथै त्यसको दुर्गन्धले भयावह रोग निम्तिने उहाँको भनाई छ ।
सरकारले लकडाउनको बेला दाना र चल्ला ढूवानी गर्न दिने बताए पनि कुखुरा उठाउन नदिदा दलालीहरुले चलखेल गरेको उहाँको बुझाई छ ।
सिन्धुली जिल्ला सहित मुलुकका विभिन्न भागमा चल्ला बिक्री गर्दै आएको सिन्धुलीमाढीस्थित कमलामाई ह्याचरी उद्योगका सञ्चालक ओमप्रकास श्रेष्ठ पनि लकडाउनका कारण सिन्धुली जिल्लामा मात्रै पाँच सय भन्दा बढी कुखुरा फर्म मारमा परेको बताउनुहुन्छ ।
“मैले नै चल्ला दिने तीन सय वटा फर्म छन्, अरु दुई सय वटाजती सिन्धुलीमा फर्म छन्,” उहाँले भन्नुभयो, “मैले चल्ला दिने फर्ममा मात्रै दैनिक २० टन दाना खपत हुन्थ्यो । अहिले दाना नै सकिएको अवस्था छ । दुई दिनभित्रमा दाना आएन भने खाल्टो खनेर कुखुरा पुर्नुको बिकल्प छैन ।”
लक डाउनका कारण कुखुरा पालक किसान धेरै मारमा परेको उहाँको भनाई छ । अहिले किसानले दाना घटाएर खुवाउनुका साथै घरमै भएको धान समेत खुवाउन थालेको उहाँले बताउनुभयो ।
“सरकारले किसानबाट उत्पादन भएको कुखुरा आयात निर्यात रोकेको अवस्था छ,” उहाँले भन्नुभयो, “ह्याचरीबाट उत्पादित चल्ला मुलुकभरि लगेर बेच्न पाउने ! चल्ला बोक्ने गाडीले कोरोना नसार्ने ? तर कुखुरा बोक्दा कोरोना सर्ने ? यो कस्तो नीति, छक्क परेका छौं !” ह्याचरीबाट उत्पादित चल्ला र कुखुरा बोक्ने एउटै मापदण्ड हुनु पर्ने उहाँको भनाई छ ।
सिन्धुली जिल्लामा दुई लाख कुखुरा उत्पादन भएको उक्त ह्याचरी उद्योगले जनाएको छ ।
त्यस्तै सदरमुकाम सिन्धुलीमाढीस्थित शिद्धबाबा दाना चल्ला सप्लायर्सका सञ्चालक नरेश देवकोटा पनि जिल्लामा अहिले कुखुराले पर्याप्त दाना खान नपाई रहेको बताउनुहुन्छ । आफुसँग मौज्दात भएको दाना प्रशासनको स्वीकृत लिएर बितरण गर्दै आएको र अब दुई दिनसम्म मात्रै पुग्ने उहाँले जानकारी दिनुभयो ।
अबको दुई दिनसम्म पनि दाना आएन भने किसानलाई साहोे गाह्रो पर्ने सप्लायर्स देवकोटाले बताउनुभयो ।