सिन्धुली,१४ चैत –विश्वभरीनै महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिन्धुलीमा सर्तकता अपनाईदैँ छ ।
तर,एम्बुलेन्स चालकहरु भने जोखिम मोलेरै विरामीलाई अस्पतालमा पु¥याउन बाध्य छन् । विरामीले स्वास्थ्य संस्थामा छिटो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् । तर,चालक भने आफँैँ असुरक्षित भएको बताउनुहुन्छ, सिन्धुली अस्पतालमा विरामी ल्याएर आउनुभएका तिनपाटन गाउँपालिका सिन्धुलीका एम्बुलेन्स चालक रमेश श्रेष्ठ ।“ फोन कै भरमा विरामी लिन जानुपर्छ, कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला एम्बुलेन्स चालकसंग सुरक्षित उपकरण नै छैन ” उहाँले भन्नुभयो ।
पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) ले शरीरलाई बाह्य संक्रमण हुनबाट जोगाउँछ । तर यहाँ मास्क, स्यानिटाइजरसमेत किन्न नपाएको उहाँको भनाई छ । एम्बुलेन्स चालकहरुले बाह्य संक्रमणबाट बच्न कुनै उपाय नअपनाएका कारण जिल्ला प्रशासन,स्थानीय सरकार,संघसंस्था र सम्बन्धित अस्पतालले एम्बुलेन्स चालकलाई सुरक्षित बनाउन ढिलाई गर्नुनहुने उहाँले बताउनुभयो ।
सिन्धुली जिल्लाभरी ३८ वटा एम्बुलेन्स छन् । जसमध्ये १८ वटा रेडक्रस मातहतका छन् । यी एम्बुलेन्सका चालकहरुले आफुहरुलाई कोरोना भाइरसबाट बच्ने उपायबारे तालिम दिनुपर्ने माग गरेका छन् । चालक सुरक्षित बनाउन पुरै शरिर ढाक्ने सुरक्षित कपडा पिपिईको व्यवस्था नभएसम्म कोरोना भाइरसका लक्षण देखिएका विरामीलाई बोक्न नसकिने उनिहरुको भनाई छ ।
एम्बुलेन्स चालकलाई सुरक्षित नगराउँदा बिरामी झनै जोखिममा पर्दछन् । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापती अशोक श्रेष्ठले भन्नुभयो,“३ वटा एम्बुलेन्स चालकलाई विहिबार पिपिई,मास्क र सेनिटाइजर उपलब्ध गराएका छौँ ।” बजारमा पिपिईको अभाव भएकाले सबै एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो ।