सिन्धुली, १२ चैत – सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुग्रेवास मल्लगाउँका सञ्जय भुजेलले सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई सहयोग गर्नु भएको छ ।
उहाँले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्(कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लागु गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सिन्धुलीमाढी सदरमुकाममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलाई पानी र विस्कुट सहयोग गर्नु भएको छ ।
माहामारीले देश नै संकटमा परेको बेलामा दिनरात नभनी जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई दिउसोको खाजा स्वरुप पानी र बिस्कुट वितरण गरिएको उहाँले बताउनु भयो ।

उहाँले ढुग्रेवास, शान्तिनगरचोक, लोकतान्त्रिक चोक, मधुटार लगाएतका ठाउँमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पानी र बिस्कुट वितरण गरिएको जानकारी दिनुभयो । “लकडाउनको बेलामा नागरिक घरमै छन् । केही किनेर खानलाई पनि पसलहरु सबै बन्द छ । यस्तो राष्ट्रलाई नै संकट परेको बेलामा दिनरात नभनी सुरक्षाकर्मीहरु जनताको सेवामा लाग्नुभएको छ । यो अवस्थामा एक नागरिकको हैसियतले सहयोग गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको हुँ ” उहाँले भन्नु भयो ।
भुजेलले गरेको सहयोगको उच्च प्रसंसा गर्दै शसस्त्र प्रहरी बल सिन्धुलीका सशस्त्र प्रहरी नायवउपरिक्षक बुद्धि कृष्ण भट्टराईले यस्तै सहयोगले गर्दा जनताको सेवा गर्न उत्प्रेरण मिल्ने बताउनु भयो । उहाँले यो माहामारी नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने समेत बताउनु भयो ।