शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका डबिन्द्रद्वारा स्वर्गीय दाईको नाममा ५० हजार सहयोग

मंगलवार , चैत्र ११, २०७६

सिन्धुली– सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामकालागि सहयोग जुट्न थालेको छ । मंगलबार जिल्ला अस्पताल सिन्धुलीमा आइशोलेसन वार्ड निर्माणकालागी स्वर्गिय प्रमुख सेनानी कविन्द्रजंग थापाको नाममा उहाँको भाई डबिन्द्रजंग थापाले ५० हजार रुपैँया सहयोग गर्नुभएको छ । कमलामाई नगरपालिका–५, मधुटार निवासी स्वर्र्गीय थापाको बुवा लालबहादुर थापा र काका दिलिप जंग थापाले उक्त रकम जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोख्रेललाई हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोख्रेलले सहयोग जुटाउनकालागि अपिल गरिरहेको अवस्थामा स्वर्गिय थापाको भाइले आफैँले सम्पर्क गरि आइशोलेसन निर्माणकालागि ५० हजार रुपैँया सहयोग गरेकोमा खुशी हुदैँ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सहयोग जुटाउन हामीले सम्पर्क गरिरहेका छौँ । तर, थापाले आफैँले सम्पर्क गरेर सहयोग गर्नुभयो ।”

को हुन् स्वर्गिय कविन्द्रजंग थापा

प्रमुख सेनानी कविन्द जंग थापा कंगोमा सहादत प्राप्त सैनिक हुन् । उहाँको २०६२ साल जेठ १८ गते शान्ति स्थापनार्थ तैनाथ रहँदा कंगोमा मृत्यु भएको थियो । शान्ति स्थापनार्थ कंगोमा खटिएका बेला निधन हुनु भएका प्रमुख सेनानी कविन्द्रजंग थापाको नाममा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमो कविन्द्र मण्डब निर्माण गरिएको छ ।

तत्कालिन संयुक्त राष्ट्रिय संघका महासचिव बान कि मुनले नेपालको संविधानसभाको विशेष बैठकमा उच्च समर्पणभावको अनुपम नमूना प्रस्तुत गर्दै वीरगति प्राप्त गर्ने स्वर्गीय थापालाई सम्झिदैँँ नेपाली सेनाको तारिफ गर्नुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “ एक नेपाली सैनिकको वीरताको कथा मेरो दिमागमा अझै ताजा नै छ । जुन २००५ मा सेनानी कबिन्द्रजंग थापाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको खतरनाक भूभागमा जाने समयमा एक मानव अधिकारकर्मीको टोलीलाई सुरक्षा प्रदान गर्न सहयोग गरिरहेका थिए । उनीहरूले त्यहाँको युद्धको सबैभन्दा निकृष्ट ज्यादती सामूहिक वलात्कारका बारेमा छानबिन गर्दै थिए । उक्त टोलीको हिँड्ने काममा सयौं सशस्त्र मिलिसियाले हेलिकोप्टरलाई घेरे र गोली बर्साउन थाले । सेनानी थापाले प्रत्येक व्यक्ति सुरक्षित साथ हेलिकोप्टर चढाए ।

हेलिकोप्टरमा चढ्ने उनी अन्तिम व्यक्ति थिए। हेलिकोप्टर भित्र चढ्ने बित्तकै उनीलाई गोली लाग्यो र उनको निधन भयो ।सेनानी थापाले आफ्ना साथीहरूको सुरक्षा गर्दै ज्यान दिए । उनले शान्ति र मानवअधिकारको रक्षार्थ ज्यान दिए । उनले संयुक्त राष्ट्रसंघको रक्षा गर्दै ज्यान दिए । उनको वीरतामा हामीले नेपालका सम्पूर्ण जनताहरूले प्रधानमन्त्री प्रचण्डको देशलाई ‘शान्तिको नमूना’ बनाउने सपना चरितार्थ गर्ने सक्ने सम्भावना बोकेको देख्न सक्छौं ।”

प्रतिक्रिया