सिन्धुली,९ चैत– जीर्ण भवन रहेको कारागार कार्यालय सिन्धुलीमा रहेका कैदीबन्दीलाई पनि यतिखेर कोरोना भाईरसको त्रास बढेको छ ।
क्षमता भन्दा झण्डै आठ गुणा बढी कैदैबन्दी रहेको कारागार कार्यालयमा उक्त भाईरसको जोखिमकै कारण बाहिरी जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाईएको छ । कैदीबन्दिी बिरामी परे, झैझगडा गरे जस्ता इमर्जेन्सी कारण भएमात्रै एउटा कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्ने गरिएको कारागार प्रमुख मात्रीकाप्रसाद पहाडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नत्र अरु समान्य कारणले एक स्थानबाट अर्को स्थानमा कैदीबन्दी लैजान कडाई गरिएको छ ।” कोरोना भाईरको जोखिमका कारण कैदीबन्दीलाई मास्क बितरण, सावुनपानीले हात धुने व्यवास्था मिलाएको र भेटघाट बन्द गर्नुका साथै सरसफाईमा ध्यान दिईएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार कारागार कार्यालय सिन्धुलीमा कैदीबन्दी र एक जना आश्रीत नाबालिका सहित २१२ जना रहेका छन् । यि मध्ये १०६ जना कैदी र १०५ जना बन्दी रहेका छन् । यि मध्ये पनि २०४ जना पुरुष र सात जना महिला रहेका छन् । बहुविवाह मुद्धामा एक बर्षको कैद सँजाय पाएका तीनपाटन गाँउपालिका निवासी बिमला मंग्रान्तीको पाँच महिनाको आश्रीत छोरी रहेकी छिन् । उनको श्रीमान् पनि कारागारमा सोही अभियोगमा सँजाय भोगि रहेका छन् ।
कारागारका चौकिदार (कैदीबन्दीको नाईके) मनक लामाले पनि कारागारमा बढी भिड भएकाले कोरोना भाईरसको जोखिमकै कारण बाहिरी जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाएको बताउनुभयो । कारागार प्रशासनले दैनिक तीन बट्टा सेनिटाईजर र मास्क बितरण दिदै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कैदीबन्दी धेरै भएकाले गाह्रो त धेरै भएको छ, त्रास पनि उत्तिकै छ । तर देशभरीकै जेल भरिएकोले समस्या भएको छ । जिल्लाले पनि कैदी बन्दी कँहा पठाउने ? सहेर बस्नु परेको छ ।” कारागारमा पुरुष कैदीबन्दीलाई राख्ने ठाँउ र महिला कैदीबन्दीलाई राख्ने ठाँउ छुट्टाछुट्टै छ । पुरुष कैदीबन्दी बस्ने ठाँउ साँघुरो भएकाले बढी समस्या भएको तीनै चौकीदार लामाको भनाई छ ।
उहाँले भन्नुभयो, “पुरुष कैदीबन्दीलाई बस्ने र सुत्ने ठाँउको समस्या भएपछि ट्रष्ट बनाएर सुत्ने ठाँउ बनाईएको छ । तर शौचालयको भने निकै समस्या छ । शौचालय जान लाईनमा बस्नु पर्छ, १५/२० मिनेटमा मात्र पालो पाईन्छ, भनेको समयमा जान पाईदैन ।” पानीको सुविधा भने पर्याप्त रहेको उहाँले सुनाउनुभयो ।
२५ जनाको क्षमता सहित उक्त कारागार वि.सं. २०२५ सालमा बनेको हो । जनसंख्या बृद्धिसँगै अपराधका घट्ना पनि बढेकाले कैदिबन्दिको चाप बढेको कार्यालयले जनाएको छ । क्षमता भन्दा निकै बढी कैदैबन्दि राखिएकाले सुत्न, हिडडुल गर्न, ट्वाईलेट जान लगायतका समस्या भोग्दै आएको चौकिदार मनक लामा बताउनुहुन्छ ।
कारागारमा महिला कैदीहरुको लागि छुट्टै कक्ष नहुदा झनै समस्या देखिएको छ । सात जना कैदीबन्दी मध्ये चार जना कैदी र तीन जना बन्दी रहेका छन् ।
जिल्लामा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएकाले पाँच सय कैदीबन्दि बस्ने क्षमताको नयाँ कारागारको भवन निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डाँफे कन्ट्रक्सन धुलीखेलले आठ करोड ८८ लाख रुपैयाको लागतमा १४ महिना अघि निर्माण सुरु गरेको उक्त भवनको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ ।
१५० जना महिला र ३५० जना पुरुष कैदीबन्दि राख्ने क्षमता सहितको नया भवन तीन बर्षभित्र सकने गरी सुरु भएको हो । उक्त भवनमा खेल मैदान, खेलकुद सामग्री, भान्सा घर, पार्किङ, शौचालय, बाथरुप, टिभि, पत्रपत्रिका, सुरक्षाकर्मीका लागि व्यारेक, बालबालिका राख्ने स्थान लगायतका सुविधा उपलब्ध रहने कार्यालय प्रमुख पहाडीले बताउनुभयो ।