शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा अझै बिस हजार भन्दा बढी घरधुरी अन्धकारमा

मंगलवार , चैत्र ४, २०७६

सिन्धुलीको फिक्कल गाँउपालिका–४ खाङसाङमा राष्ट्रिय विद्युत प्रशारण लाईन बिस्तारका क्रममा हालै जडान गरिएको ट्रान्सफर्मर ।

सिन्धुलीमाढी,४ चैत – सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच भित्रीएको ३१ बर्ष हुदा अझै बिस हजार भन्दा बढी घरधुरी अ न्धकारमा बस्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकाम र आसपासका गाँउका बासिन्दा बर्सौदेखि राष्ट्रिय विद्युत प्रसारण लाईनको उज्यालोमा रमाई रहेका छन् । तर दुर्गम क्षेत्र र दुरदराजका बासिन्दा भने अझै टुकी बत्तिको सहारामा अ ध्यारोमा बस्न बाध्य भएका स्थानीयको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीका अनुसार जिल्लामा रहेका कुल घर धुरी ५७ हजार ५८१ (२०६८ सालको राष्ट्रिय जनगणना अनुसार) मध्ये राष्ट्रिय विद्युत प्रशारण लाईनबाट हालसम्म ३४ हजार घरधुरीमा पहुँच पुगेको छ । अझै २३ हजार ५८१ घरधुरी उक्त प्रशारण लाईनको पँहुच बाहिर रहेका छन् ।

राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच बाहिर रहेका घरधुरी मध्ये पनि झण्डै तीन हजार पाँच सय घरधुरी स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत योजनाबाट लाभान्वित रहेको बताईएको छ । घ्याङलेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलन उक्त गाँउपालिकामा रहेका करिब तीन हजार पाँच सय कुल घरधुरी मध्ये बल्ल यो बर्षमात्रै २८२ घरधुरीले राष्ट्रिय विद्युत प्रशारण लाईनको बिजुली बत्ति बाल्न पाएका बताउनुहुन्छ ।

उक्त गाँउपालिकाको पाँच वटै वडामा राष्ट्रिय विद्युत प्रशारण लाईनको मुख्य लाईन बिस्तार भई सकेको र अहिले शाखा लाईन बिस्तारको काम भई रहेको उहाँले जानकारी दिुनभयो । “गाँउपालिकाको केन्द्रमै राष्ट्रिय विद्युत प्रशारण लाईनको बिजुली थिएन, भर्खर यो बर्ष मात्रै आएको छ,” उहाँले भन्नुभयो, “अबको एक बर्षभित्र सबैको घर घरमा बिजुली पुर्‍याउने लक्ष्य सहित गाँउपालिकाले पनि साढे तीन करोड रुपैया लगानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले पनि लगानी गरी अहिले तार पोल बिस्तारको काम भई रहेको छ ।’

त्यस्तै फिक्कल गाँउपालिकाको अवस्था पनि घ्याङलेखको भन्दा कम छैन । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार फिक्कल गाँउपालिकाको छ वटा वडाको कुल घरधुरी १६ हजार ९६८ मध्ये अहिलेसम्म ७० घरले मात्रै राष्ट्रिय विद्युत प्रशारण लाईनको बत्ति बालेका छन् । यो पनि मुख्य प्रशारण लाईन आसपासमा घर भएकाले बत्ति बालेका हुन् ।

गाँउपालिकाभित्रको मुख्य प्रशारण लाईनमा ट्रान्सफर्मर जडान गरी बत्ति बाल्ने काम भर्खरै सकिएकोले तत्काल १२० घरमा मिटर ल्याई विद्युत जडान गर्ने प्रकृयामा रहेको उहाँले सुनाउनु भयो । फिक्कल गाँउपालिका भित्र छ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा रहेकाले केही घर परिवार त्यसैबाट उत्पादित उज्यालोमा रमाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “गाँउपालिकाको केन्द्र समेत सोलार बत्तिको भरमा थियो । यो बर्ष मात्रै राष्ट्रिय विद्युत प्रशारण लाईनको जडान गरेका छौं ।” गाँउका हुनेखाने केही घर परिवारले सोलार बत्ति जडान गरी उपभोग गर्दै आएपनि अधिकांसले टुकी बत्तिको भरमा रात काट्दै आएका स्थानीयको भनाई छ । फिक्कल गाँउपालिकाले पनि यो बर्ष विद्युत विस्तारका लागि ५० लाख रुपैया बजेट छुट्याई काम भई रहेको जनाएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये घ्याङलेख, फिक्कल, हरिहरपुरगढी गाँउपालिकाको केन्द्रमा यो बर्ष मात्रै राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच पुगेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र सिन्धुलीले जनाएको छ । उक्त केन्द्रका अनुसार यि गाँउपालिका सहित सुनकोसी र तिनपाटन गाँउपालिकाको धेरै स्थानमा विद्युतीकरण गर्न बाँकी नै रहेको छ । अहिले कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाँउपालिकाका धेरै जसो उपभोक्ता राष्ट्रिय विद्युत प्रशारण लाईनको पँहुच भित्र छन् ।

वितरण केन्द्रका ईन्जिनियर तथा सूचना अधिकारी राजु महतो अबको दुई बर्षभित्र पुरै सिन्धुली जिल्लालाई उज्यालो बनाउने गरी सबै स्थानीय तहमा अहिले विद्युत विस्तारको काम धमाधम भई रहेको बताउनुहुन्छ ।

“यो बर्ष बिद्युत बिस्तारका लागि केन्द्रबाट नौ करोड रुपैया आएको र टेण्डर भई काम अघि बढी सकेको छ,” उहाँले भन्नुभयो, “यो बर्ष १० वटा टेण्डर निकालेकोमा तीन वटाको सम्झौता भई ठेकेदारले काम सुरु गरी सकेका छन् । यो बर्ष पाँच हजार ग्राहक थप्ने लक्ष्य छ ।”

आगामी बर्षको लागि ६२ करोड रुपैयाको कार्यक्रम बनाई केन्द्रमा पठाएको र उक्त कार्यक्रम सबै स्वीकृत भएर आयो भने जिल्लाभित्रका सबै ठाँउमा बत्ति बल्ने उहाँको भनाई छ । उहाँका अनुसार जिल्लामा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण बाहेक विश्व बैंक र स्थानीय तहले समेत लगानी गरी काम गर्दै आएका छन् ।

 

प्रतिक्रिया