सिन्धुली, २१ फागुन–कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले मानिसको धेरे भिड्भाड हुने मेला, महोत्सव लगाएतका कार्यक्रम नगर्न स्थानिय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा आयोजना गर्न थालिएको विभिन्न मेला, महोत्सव लगाएतका कार्यक्रमहरु तत्कालका लागि स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौमत्ले बताउनुभयो ।
सिन्धुलीको तिनपाटन गाउँपालिकाले आयोजना गर्न थालेको तिनपाटन प्रादेशिक महोत्सव लगाएतका अन्य मेला, महोत्सव आयोजनाको तयारी गरेका व्यक्ति,संघ/संस्थालाई सम्पर्क गरी तत्काल कार्यक्रम नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौमतले बताउनुभयो । “आधिकारी रुपमा केन्द्र सरकारबाट हामीलाई यस्ता मेला महोत्सव लगाएतका कार्यक्रम स्थगित गर्न भनेर परिपत्र त आएको छैन् । तर स्वास्थ्य मन्त्रालयले गरेको सार्वजकि अपिललाई नै हामीले आधार मानेर कार्यक्रम नगर्न आग्रह गरेका छौं” उहाँले भन्नुभयो ।
स्थानिय प्रशासनले महोत्सव स्थगित गर्न आग्रह गरेपछि तिनपाटन प्रादेशिक महोत्सव स्थगित गर्ने निर्णय भएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले बताउनुभयो । “महोत्सव गर्ने भनेर तयारीलाई तिव्रता दिएका थियौं । तयारी लगभग आधाआधी भईसकेको थियो । देशमै कोरोनाको त्रास बढेपछि सरकारले नै मेला महोत्सव नगर्न आग्रह गरिरहेका अवस्थामा हामीले यो महोत्सव गर्नुको अर्थ नहोला र महोत्सवका कारणले कही समस्या उत्पन्न भईहाल्यो भने झन समस्या हुन्छ भनेर अहिलेलाई स्थगित गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो ।
यही फाल्गुन २५ गते (मार्च ८) का दिन मनाईने अन्तर्राष्ट्रिय नारी दिवसमा पनि धेरै मानिसको भेला नगराई तर प्रभावकारी कार्यक्रम गरेर मनाउने निर्णय भएको प्रजिअ गौमतले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाईने उहाँले बताउनुभयो । दिवसको अवसरमा नगरक्षेत्र भित्रका श्रमिक महिलाहरुलाई सम्मान गर्ने ,कार्यपत्र प्रस्तुत गर्ने लगाएतका कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गर्नुभएको हो । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उहाँले बताउनुभएको छ ।