सिन्धुली २० फागुन – परम्परागत रुपमा चल्दै आएको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि संरक्षणमा सिन्धुलीका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको नौमती र पञ्चेबाजा लोभ हुँदै गइरहेको बेला यसको प्रर्बधन र संरक्षणमा सिन्धुलीको ‘कला घर सिन्धुली’ले विशेष अभियान चलाउँदै आएको छ ।
प्रगतिशील प्रतिभा केन्द्रले २०७५ सालबाट सुरु गरेको यस अभियानले अहिले चौतर्फी चर्चा बटुलिरहेको छ । समाजमा पञ्चेबाजा एक वर्ग समूहले मात्र बजाउनु पर्छ भन्ने संकुुचित धारणालाई चिरफार तथा लोकबाजा नौमती बाजाको प्रचार प्रबधनको स्वरूप यस अभियानमा लागिपरेको ‘कला घर सिन्धुली’ का अध्यक्ष नेपाली बाबु सुमनले बताउनु भयो । लोपोन्मुख पञ्चेबाजा संरक्षणमा कला घर सिन्धुलीले पछिल्लो समय किशोरीहरूलाई पनि सक्रिय बनाइरहेको छ ।
विवाह व्रतबन्ध, मेला महोत्सव लगायत विभिन्न कार्यक्रममा ‘बाजा सुन्दरी’ नामले परिचित किशोरीहरूको एक समूहले मनोरञ्जन दिँदै आएका छन । कला घर सिन्धुलीका किशोरी समूहले सिन्धुलीको फिक्कल गाउँपालिका ले आयोजना गरेको दोश्रो फिक्कल महोत्सव–२०७६ मा “र्याप्टिङ र प्याराग्लाडिङ ’ मा पञ्जे बाजा बजाएकोे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एक साहसिक र खतरा खेल प्याराग्लाडिङमा “बाजा सुन्दरीहरू” रिता थिङ – ट्याम्को, सञ्चिता थापा मगर – सहनाई, पवित्रा रम्जेल – सहनाई, निरुता लामा – बाजा, पूजा गौतम – झ्याली बजाएर इतिहास रच्नु भएको छ ।