सिन्धुली ,१८ फागुन – सिद्धस्थली अंग्रेजी आवासीय माध्यमिक विद्यालय कमलामाई नगरपालिका ६ माढी बजार सिन्धुलीको अभिभावक भेला तथा बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागी अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिमा अभिभावक, विद्यार्थी, विद्यालय र शिक्षकले गर्नुपर्ने भुमिकाका बारेमा छलफल भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्माले निजी विद्यालयहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहजै बिक्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले गुणस्तरीय शिक्षा हुनका लागी अभिभावक, विद्यार्थी, विद्यालय र शिक्षक पनि गुणस्तरीय हुनपर्ने धारणा राख्नुभएको छ ।

उहाँले राज्यले प्राविधिक विद्यालयहरुलाई बढाउदै दक्ष प्राविधक जनशक्ति उत्पादनमा जोड दिएको बताउनुभयो । उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्द्र बैदारले राज्यले निजी क्षेत्रलाई अपहेलना गरेको गुनसो गर्नुभयो । निजी क्षेत्रको तर्फबाट २५ प्रतिशत सम्म मुनाफा राज्यले लिने तर ऐन कानुन भने निजी क्षेत्रलाई पेलेर लैजाने खालको बनाउने गरेको बताउनुभयो ।