निर्माणधिन मदनभण्डारी राजमार्गको नक्साङकन परिवर्तन गरि हाज्माको २ नं. गेट हुदै कुमालफाटबाट लैजाने जनप्रतिनिधिहरुको निर्णय विरुद्धमा संघर्ष गर्न आयोजित छलफलमा सहभागि स्थानिय ।
सिन्धुली,३ फागुन – राष्ट्रिय गौरबको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौडा–सिन्धुली–चतरा(मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल बनेको छ ।
तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुदै मिलन चोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्सांन तथा विस्तृत अध्यन प्रतिवेदन तयार भई ठेक्का लागेको भए पनि यहाँका राजनीतिक दलहरुको दबाबमा नक्साकंन परिवर्तन गर्ने कोसीस भएपछि अन्यौलता कायम भएको हो ।
डिपिआर तयार भई ठेक्का लागेको रुटको धुराबजार क्षेत्रका केहि घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भन्दै त्यसक्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरि अन्यत्र डाइभर्ट गर्न यहाँका केहि राजनीतिक दल तथा केहि जनप्रतिनिधिहरुले आयोजनालाई दबाब दिएपछि राजमार्ग निर्माणको काम अन्यौल बनेको हो ।
कमलामाई नगरपालिका सहित बागमति प्रदेश सांसद तथा संघिय सांसदले धुरा क्षेत्रबाट सडक निर्माण गर्दा केहि घरहरुमा क्षति हुने भन्दै राजमार्गको नक्सा तथा रुट परिवर्तन गर्न पहल थालेपछि सदरमुकाम सिन्धुली माढीमा मदन भण्डारी राजमार्गको रुटकै विषयमा सहमती हुन सकेको छैन । जनप्रतिनिधिहरुले विपी राजमार्गको तत्कालिन हाज्माको २ नं. गेटहुदै कुमाल फाट(आर्दश टोल) साङवाले हुदै खट्टार जोड्ने गरि सडक निर्माण गर्न पहल गरेपनि त्यस क्षेत्रका स्थानियले खेतीयोग्य जग्गा मास्न नदिने बताउदै आएका छन् ।
हाल डिपिआर भएकै स्थानमा दायाबाया सडक बढाउदा पुग्ने र आफुहरुको खेतीयोग्य जग्गाबाट राजमार्ग लैजान नदिने स्थानियको भनाई छ । डिपिआर तयार भई सडक निर्माणको ठेक्का लागेपछि बनेका अधिकांश घरहरु सडकको मापदण्डलाई छोडेरै बनाएकाले राजमार्गको रुट परिवर्तन गरि खेतीयोग्य जग्गा मास्नु नपर्ने स्थानिय दिपक ढकाल बताउछन् । सिन्धुलीको धुराबजारको सिरानबाटनै हाल कमलामाई नगरपालिकाको कर तथा मालपोत कर तिर्दा मदनभण्डारी राजमार्गको दायाबाया उल्लेख भई सोही अनुसारको स्थानियले कर समेत तिर्दै आएकाले हाल परिवर्तन गर्छौ भनेर लाग्नु औचित्यहिन हुने अर्का स्थानिय कृष्ण अधिकारीले बताए ।
जनप्रतिनिधिहरुले विपी राजमार्गको हाज्मा २ नं. गेट हुदै राजमार्ग निर्माण गर्ने जनाएपछि त्यस क्षेत्रका स्थानिय घरतथा जग्गाधनिहरुले मदनभण्डारी राजमार्ग त्यस क्षेत्रबाट निर्माण गर्न नदिने भन्दै चरणबद्ध संघर्ष सुरु गरेपछि राजमार्ग निर्माणमा अन्यौलता छाएको हो । विवादित रहेको हेटौडा– सिन्धुली–चतरा राजमार्गको रुट परिवर्तन गरि कमलामाई नगरपालिका ४ स्थित विपी राजमार्गको तत्कालिन हाज्माको २ नं. गेट हुदै कुमाल फाट हुदै साङवाले खट्टार जोड्ने गरि नक्साङकन परिवर्तन गर्न कसरत सुरु भएको देखियो, स्थानिय तथा संघर्ष समितिका संयोजक कृष्ण अधिकारीले भन्नु भयो, “हामी हाम्रो जग्गाबाट राजमार्ग निर्माण गर्न दिदैनौ । ”
उहाँले खेतीयोग्य जग्गा भएकाले आफुहरुले धान खाने खेत मास्न नदिने बताउनु भयो । राज्यलेनै खेतीकिसानी गर्नेलाई प्रोत्साहन गरिरहेको अवस्थामा खेत मासेर शहर तथा राजमार्ग निर्माण गर्न दिदैनौ, उहाँले भन्नु भयो“राजमार्ग यहि क्षेत्रबाटै निर्माण गर्नैपर्ने अवस्था आएको हो भने हामीलाई यहाँको चलनचल्ति अनुसारको क्षतिपुर्ति चाहिन्छ ।” धुराबजारबाट राजमार्ग निर्माण गर्दा केहि घरहरु क्षति हुने देखिन्छ, त्यसैले परिवर्तन गर्न पहल गरेका हौ, बाग्मती प्रदेश सदस्य बिनोद खड्काले भन्नु भयो“हेटौडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा धुरा क्षेत्रमा क्षति हुदै भएकाले विकल्पको खोजी भएको हो ।”
सांसद खड्काले राजमार्ग निर्माणको विषयमा लामो समयदेखि अन्यौलता कायम रहेकाले त्यसको निकासको प्रक्रिया सुरु गरेको र विकल्पको रुपमा तत्कालिन हाज्माको २ नं. गेट हुदै आदर्श टोलबाट साङवाले जोड्नेगरि पहल सुरु भएको बताउनु भयो । तर आदर्श टोलका स्थानियले भने आफुहरुको जग्गा जमिनबाट राजमार्ग निर्माण नगरिदिन माग गरेका छन् । डिपिआर भई ठेक्का लागि सकेको र मिलनचोकस्थित लब्दाहा खोलामा राजमार्गकै पुल समेत बनेको अवस्थामा परिवर्तन गर्ने भन्दै जनप्रतिनिधिहरुले बखेडा निकालेको स्थानियको आरोप छ । कुमालफाट हुदै राजमार्ग निर्माण गर्दा दुई दर्जनबढी घर तथा दर्जनौ स्थानिय सुकुम्बासी हुने अवस्था रहेकाले त्यस क्षेत्रबाट राजमार्ग निर्र्माण नगरिदिन संघर्ष समितिका संयोजक अधिकारीले अनुरोध गर्नु भयो ।
उहाँले स्थानियको सहमती विपरित काम अगाडी बढाए जस्तोसुकै कदम उठाउन आफुहरु पछि नपर्ने भन्दै न्याय खोज्न कानुनी निकायमा समेत जाने चेतावनी दिनु भयो ।
राजमार्गको पश्चिमखण्ड आयोजना प्रमुख अर्जुन अर्यालका अनुसार धुराबजारहुदै डिपिआर भएपनि जनप्रतिनिधि सहितको सर्वपक्षिय भेलाले त्यसको विकल्प खोजी गर्न थालेकाले निर्माणको कार्य अगाडी बढ्न सकेको छैन । एकपटक सर्वपक्षिय भेलालेनै विकल्प खोज्ने निर्णय भएको छ भन्ने मैले सुनेको छु, त्यहि अनुसार विकल्प र सहमती खोजी हुदै छ, उहाँले भन्नु भयो, “त्यसैले त्यस क्षेत्रको काम अगाडी बढेको छैन ।”
झन्डै ७० प्रतिशत सडक निर्माणको कार्य सम्पन्न भएपनि सिन्धुलीमाढीमै अन्यौल भएको हो । सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तिब्र भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्गको पुर्वी र पश्चिम दुबै खण्डको काम तिब्र गतिमै भइरहेको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ भने पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटर सडकमा धमाधम निर्माण कार्य भइरहेको छ ।