सिन्धुली,३ फल्गुन– सिन्धुलीको कमलामाई नगरपालिका–४ दुई नम्बर गेटमा जिल्लाकै पहिलो सुविधा सम्पन्न गणपती होटल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।
सोही ठाँउ निवासी युवा व्यवसायि नरेश श्रेष्ठ र सन्तोश शर्माले संयुक्त रुपमा करिब आठ करोड रुपैया लगानी गरी उक्त रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो । २५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट १५ बर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको व्यवसायि श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त लगानी जग्गा बाहेकको हो । रिसोर्ट सञ्चालनमा आएसँगै ३० देखि ३५ जनाले रोजगारीको अबसर पाएका छन् । तीन बर्षअघि देखि रिसोर्टको निर्माण कार्य सुरु भएको थियो ।”
रिसोर्टमा पौडी पोखरी, सेमिनार हल र प्रत्येक कोठामा एसीको व्यवस्था रहेको उहाँले सुनाउनुभयो । रिसोर्टमा एक पटकमा ८० जना ग्राहक बास बस्ने क्षमताको रहेको सञ्चालकले जनाएका छन् ।
सिन्धुली जिल्लामा ठूलो लगानीका होटल नखुली रहेको अवस्थामा गणपती होटल एण्ड रिसोर्ट जिल्लाकै ईज्जत बढाउने किसिमको रहेको प्रदेश सभासद राजन दाहालले बताउनुभयो ।
शिद्धबाबा मन्दिर र सिन्धुलीगढी हाईकिङको प्याकेज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिदै सञ्चालक श्रेष्ठले भन्नुभयो, “बिशेष गरी आन्तरिक तथा बाहिय पर्यटक, एनजीओ, आई एनजीओ लक्षित ग्राहक रहेका छन् ।”