सिन्धुली,१८ माघ – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अबको निर्बाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ ।

कोईराला परिवारको पुख्यौली थलो सिन्धुलीको सुनकोसी गाँउपालिका–१ धरिणडाँडा दुम्जामा बीपी कोइराला प्रतिष्ठान रामेछापले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफु पहिलो पटक दुम्जामा आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “पार्टी एक ढिक्का भयो भने कसैले हराउन सक्दैन । चाहै एमाले मओवादी किन नमिलुन् ।”

काम गर्ने जनता विदेश गएकाले धेरै खेती योग्य जमिन बाँझै बसेको उहाँको भनाई थियो । पानी जहाज र रेल यो देशको सपना नभई कृषिलाई आधुनिकीकरण गरी मलिलो माटोलाई उत्पादनमुखी बनाउनु पर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृष्णप्रसाद कोईरालाको भत्किन थालेको घर हेरे, धेरै पुरानो सम्झना आयो । अब त्यो घर हामी बनाउछौं ।”

त्यस्तै केन्द्रिय सदस्य डा. शेखर कोईरालाले अहिले देशमा भ्रष्टा«चारको कुरा गर्दा जती गरेपनि अपुग हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री र मन्त्री सबै भ्रष्ट्राचारमा लिप्त रहेको चर्चा गर्दै नेपाली काँग्रेस अहिले मुखदर्शक भएर बसेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काँग्रेस अहिले बोल्न सक्ने अवस्थामा छैन, संसदमा कुरा उठाउन सकि रहेको छैन ।” बीपीले जन्माएको काँग्रेस कहिल्यै पनि अन्यायको पक्षमा नरहेका चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेस विधानलाई टेकेर अगाडी बढ्ने हो । विधानलाई नटेक्ने हो भने काँग्रेस र अरु पार्टीमा कुनै फरक छैन ।”

काँग्रेस भित्रको अहिलेको लडाई भनेको बिचारको लडाई भएको चर्चा गर्दै मँहगीले सडकको चुली नाघेको, दण्ड हिनताले सिमा नाघेको, शान्ति सुरक्षा नभएको र नोकरीको अबसर नभएको बताउनुभयो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजबादमा नेपाली काँग्रेस अडिग रहेको चर्चा गर्दै उहाँले स्वार्थीपन काँग्रेमा हावी भएको बताउनुभयो ।

सो अबसरमा नेपाली काँग्रेसका महामन्त्री कोईरालाले दुम्जा माविलाई आफ्नो तर्फबाट एक थान कम्प्युटर प्रदान गर्नु भएको थियोे । उक्त कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरी झण्डै दुई दर्जन व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
बीपी कोईराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, श्याम घिमिरे, प्रदेश सभा सदस्य राधा घले, पूर्व संविधानसभा सदस्य तीर्थ लामा, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल लगायतका बक्ताले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।