ग्रामीण क्षेत्रका डाक्टर : सिन्धुलीको क्यानेश्वर हरिहरपुरगढी गाँउपालिका–७ कोल्टीमा आफ्नो आश्रममा माता, लामा र झाँक्री बनेका दाजुवहिनी । उनीहरुले हजार भन्दा बढि विरामीलाइ झारफुक गरेर निको पारेको दावि गरेका छन् ।
सिन्धुली१७ माघ– झारफुकलाई अन्धविश्वासका रुपमा चित्रण गरिए पनि जिल्लाको ग्रामीण क्षेत्रमा बसोवास गर्ने अधिकांस मानिस विरामी हुदा धामी झाँक्रीको शरणमा जाने क्रम घटेको छैन ।
गाँउमा कुनै मानिस विरामी भएमा सबैभन्दा पहिले धामीकोमा लैजाने र त्यसपछि कुनै उपाय नभएमात्र अस्पताल एवं स्वास्थ्य चौकीमा लैजाने चलन यथावत रहेको स्थानीय वासिन्दाहरु बताउछन् । उनीहरुका अनुसार मानिस विरामी भएमा देवता रिसाएर हो अथवा डाईनी, बोक्सी, पिसाद वा भूतको कारण हो भनेर तत्काल धामीकोमा लाने चलन छ ।
तीनपाटन गाँउपालिका–२ निवासी स्थानीय नरबहादुर मगर गाँउघरमा कुनै मानिस बिरामी भएमा पहिलो रोजाईमा धामीझाँक्री नै पर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी गाँममा कोही विरामी परेमा पहिला धामी ल्याई जोखाना हेराउने, कुखुरा परेवा काटेर बली दिने र त्यसबाट समेत कुनै उपाए नलागेमा धामीलाई बकाउन लगाएर उपचार गराउछौं ।” धामीले सबै उपाय गर्दा पनि केहि नलागेपछि मात्र अन्तिममा विरामीलाई अस्पताल लैजाने गरेको उहाँले सुनाउनुभयो ।
चिकित्सकको उपचारबाट निको हुन नसकेका कुनै–कुनै रोग गाँउ घरमा धामी झाँक्रीले निको पार्ने भएकाले त्यसप्रती विरामीको विश्वास बढेको स्थानिय वासिन्दाको भनाई पाईन्छ । चेतनाको अभावमा ज्वरो, खोकी, झाडापखालाका कतीपय विरामी समेत देस्यान् लाग्यो भनि उपचार गर्न धामीझाँक्रीकोमा जाने गरेको पाइन्छ ।
दुई दशकभन्दा लामो समयदेखि धामी पेशामा संलग्न हुदै आएका कमलामाई नगरपालिका–३ चपौली निवासी शम्भुप्रसाद देवकोटा आफुलाई धामी पेशा भ्याईनभ्याई भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा बसेपछि बोलाउन आउछन् । आपत परेर आएका हुन्छन्, जानेको पेशा सक्दिन भन्न मिल्दैन ।” आफुले निको पार्न नसक्ने कतिपय विरामीलाई अस्पताल जान सल्लाह दिने गरेको उहाँको भनाइ छ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट पर्याप्त उपचार नपाउनु र धामी झाक्री समयमै उपस्थित हुने हुनाले पनि त्यस क्षेत्रका वासिन्दा झारफुकको उपचारमा आकर्षित भएका छन । जिल्ला स्वास्थ्य कार्यालयमा धामी, झाँक्रिका लागि तालिम भनेर वर्सेनि लाखौ रकम खर्च भएको देखाइए पनि आफुहरुले अहिलेसम्म त्यस्तो तालिम नपाएको उक्त पेशामा संलग्न धामीझाँक्रीहरुको गुनासो छ ।
धामीझाक्री भएर काम गरेको दुइ दशक वितिसक्दा एक पटक पनि स्वास्थ्य कार्यालयले तालिम दिएको खुर्कोटका रत्नबहादुर मगरलाइ थाहा छैन । “धामीले ठिक गर्न नसक्ने, व्यथा लागेको विरामीहरुलाइ अस्पताल जानु पर्छ भनेर सल्लाह दिने गरेको छु, तर तालिम लिएको छैन,’ उहाँले भन्नुभयो, ‘अव चाँही कस्तो तालिम आउने रहेछ बुझ्नु पर्ला ।”
जिल्ला स्वास्थ कार्यालयको रेकर्ड अनुसार खुर्कोटमा मात्रै धामीझाँक्रीहरुलाइ जम्मा पारेर चेतना मुलक तालिम दुइपटक सम्पन्न भइसकेको छ । कार्यालयकै एक कर्मचारी भन्छन्, “जिल्ला स्वास्थ्य कार्यालयमा सुचना सञ्चार फाँट हेर्ने कर्मचारी र स्वास्थ्य चौकीको प्रमुखको मिलेमतोमा उक्त तालिमका लागि आएको बजेट कागजी प्रकृया मिलाएर खर्च हुदै आएको छ । तर पछिल्ला बर्षहरुमा उक्त तालिम कतै भएको छैन ।”