काठमाडौं, १६ माघ – अख्तियारल मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ ।
बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । अख्तियारका अनुसार, उहाँ र उहाँको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ । त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन । त्यो सम्पत्ति उहाँले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ ।
त्यसैले उहाँलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो । त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ ।
उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ । मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उहाँको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिनु भएको थियो ।
बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गर्नु भएको थियो । अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको थियो ।
पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उहाँको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो ।
निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो । त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो ।
आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उहाँले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ ।
उहाँले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उहाँले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गर्नु भएको छ, ५ लाखको बीमा गर्नु भएको छ । उहाँले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ । त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गर्नु भएको छ । उहाँको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ ।
त्यस्तै उहाँले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ । यी सबैमध्ये ७४ लाख ७३ हजार मात्र वैध आय हो ।