सिन्धुली १५ माघ– ‘सडक शिक्षा बिजुली फिक्कल विकासको पूर्वाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार ’ भन्ने मूल नाराका साथ आगामी फानुग ९ गते देखि १८ गतेसम्म दोस्रो फिक्कल महोत्सव २०७६ सुरु हुने भएको छ ।
फिक्कल गाँउपालिकाले पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । १० दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा एक लाख आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा एक सयदेखि १५० वटा सम्म स्टल रहने आयोजक फिक्कल गाँउपालिकाका प्रबक्ता राजु बरालले जानकारी दिनुभयो ।
महोत्सब करिब २८ लाख ५० हजार रुपैयाको लागतमा सम्पन्न गर्न लागिएको प्रस्तावित अनुमानित खर्च उहाँले सुनाउनुभयो । स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठका आकर्षक र उपयोगी बस्तु तथा अल्लोका कपडाहरु बिक्रि, प्याराग्लाईडिङ, हेलिकोप्टर र फिक्कल गाँउपालिका अन्तर्गत सुनकोसी नदीको ३० किलोमिटर क्षेत्रमा र्याफ्टिङ गराउने लगायत महोत्सवको आकर्षक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिन्धुलीमा फिक्कल छ भन्ने चिनाउन महोत्सव गर्न लागिएको हो । फिक्कल सिन्धुली जिल्लाकै सर्बोच्च शिखरको रुपमा रहेको छ ।” उहाँले भ्रमण बर्ष २०२० लाई प्रबद्र्धन गर्न महोत्सवको मुख्य उद्देश्य रहेको पनि बताउनुभयो ।
महोत्सव सम्पन्न गर्न गाँउपालिका अध्यक्षको संयोजकत्वमा ५५ सदस्यिय मूल आयोजक समिति गठन भएको जानकारी दिदै उहाँले किवी र आलु पकेट क्षेत्रको दृश्यावलोकन महोत्सवको अर्को आकर्षण रहेको बताउनुभयो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष धनबहादुर बुढाथोकीले पहिलो फिक्कल महोत्सव घाटामा गएको जानकारी दिदै पहिला महोत्सवबाट पाठ सिक्दै दोस्रो फिक्कल महोत्सव घाटामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलो फिक्कल महोत्सव घाटामा गयो भन्ने आयो, यो खुशीको कुरा हो ।” पहिलो फिक्कल महोत्सवमा भएको घाटा गाँउपालिकाको विभिन्न शिर्षकबाट मिलाएर पुर्ति गरिएको उहाँको भनाई थियो । फिक्कल चुचुरोलाई प्रचार प्रशार गरी गाँउपालिकाको मुख्य आम्दानीको स्रोत बनाउने उद्देश्य सहित महोत्सब आयोजना गरिएको उहाँको भनाई थियो ,
महोत्सवमा कृषिमा आधारित बस्तु, दैनिक उपभोग्य सामानहरु, घरेलु उद्यमी सामानहरु, निर्माण सामग्री, जडिबुटी र हस्तकला तथा औद्योगिक सामानहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती, विभिन्न झाँकी तथा प्रवेशद्वारको प्रदर्शनी, रोमान्चकारी सर्कसहरु, पिङ, मौ तका कुवा, बाल उद्यान आदि रहने सो अबसरमा जानकारी गराइयो ।