सिन्धुली,१४ माघ – कमलामाई नगरपालिका–४ मल्लागाँउका बासिन्दा नगरपालिकाले फोहोर नउठाउदा पनि फोहर मैला व्यवस्थापनको कर तीर्न बाध्य भएका छन् ।
पटक–पटक स्थानीय बासिन्दाले मल्लागाँउ क्षेत्रको फोहोर उठाउन नगरपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको बताएका छन् । मल्लागाँउ क्षेत्रको भित्रि सडक र बीपी राजमार्गमा समेत फोहार बढ्दो रहेको छ । फोहर नउठाएपछि नगरपालिकाले मल्लागाँउबासीसँग फोहोर मैला व्यवस्थापन भनेर बार्षिक छ सय रुपैया कर लिन नमिल्ने मल्लागाँउ टोल विकास संस्थाका सचिब रेशम पोख्रेलले बताउनुभयो ।
मल्लागाँउबासीसँग नगरपालिकाले बर्सेनि फोहोर मैला व्यवस्थापन भनेर कर लिदै आएको छ, तर फोहोर उठाउने गाडी देख्न पाएका छैनन, उहाँले भन्नुभयो । फोहोर उठाउन स्थानीय बासिको चर्को माग भएपनि नगरपालिकाले नसुनि रहेको उहाँको भनाई छ । फोहोर उठाउने गाडी चलाउने ड्राईभर मल्लागाउकै बासिन्दा भएको र उस्ले हेपेर मल्लागाँउमा फोहोर उठाउन गाडी नल्याएको स्थानीयको गुनासो छ ।
फोहोर उठाउने गाडी चलाउने ड्राईभर रामप्रसाद देवकोटा भने मल्लागाँउमा गाडी लैजान आफुलाई अनुमति नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चपौली पनि नगरपालिका हो, च्याउकोट पनि नगरपालिका हो । त्यहाँ फोहोर उठाउन गाडी जान्छ ?” आफ्नो घरको फोहोर आफैले व्यवस्थापन गर्नु पर्ने उहाँले बताउनुभयो ।
कमलामाई नगरपालिका बाताबरण शाखाका प्रमुख प्रकास कार्की भने मल्लागाँउ क्षेत्रमा गएर फोहोर उठाउन ड्राईभरलाई निर्देशन दिई सकेको बताउनुहुन्छ । “फोहोरको गाडी गएको छैन र !” उहाँले भन्नुभयो, “एक पटक फेरी म भन्छु । जान मानेन भने कारबाहीमा हाल्छौ ।”