सिन्धुली १३ माघ – सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय तहको कार्यालय खुलेसँगै बसाइँ सराई घट्दै गएको छ ।
सिंहदरबारको अधिकार गाँउमा पुगेसँगै बसाइँ सराई घट्न थालेको स्थानीय बासिन्दा बताउछन् । पहिले जिल्ला सदरमुकाम सिन्धुलीमाढी धाउदा पाईने सरकारी सेवा सुविधा अहिले गाँउमै रहेका स्थानीय तहबाट पाईन थालेपछि पुख्यौली गाँउ छाडेर हिड्ने व्यक्ति घट्दै गएका गोलान्जोर गाँउपालिका–५ निवासी शिक्षक लेखबहादुर बस्नेत बताउनुहुन्छ ।
स्थानीय तह खुलेसँगै गाँउ बदलिदै गएको र स्थानीय तहको केन्द्र बनेको ठाँउ सहरीकरणतिर उन्मुख बनेको उहाँको ठम्याई छ । उहाँले भन्नुभयो, “पहिले गाँउमा गाविस कार्यालय मात्रै हुन्थ्यो । त्यहाँबाट आवश्यक सबै सरकारी सेवा सुविधा पाईदैनथ्यो । सरकारी सेवा सुविधा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । अहिले प्राय सबै सुविधा स्थानीय तहबाट पाईएको छ ।”
अहिले नागरिकता बनाउन र जग्गा किनबेच गर्न मात्रै सदरमुकाम सिन्धुलीमाढी धाउनु परेको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार सिंहदरबारको अधिकार गाउँमा पु¥याउन स्थापना भएका स्थानीय तहको कार्यालय रहेका आसपासका स्थानमै अहिले पक्कि संरचना बन्न सुरु गरेपछि गाँउको समेत स्वरुप नै बदलिदै गएको छ । पहिले सदरमुकाम धाउदा पशु कार्यालय, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय लगायतका सरकारी निकायबाट पाईने सरकारी सेवा सुविधा अहिले स्थानीय तहबाटै पाईन थालेको छ ।
स्थानीय तहको केन्द्र रहेको ठाँउमा सर्बसाधारण व्यक्ति समेत पक्कि घर बनाएर व्यापार व्यवसाय गरेर बस्न थालेका घ्याङलेख गाँउपालिका–२ बस्तिपुर निवासी मिनध्वज तमाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाँउपालिकाको केन्द्र रहेको ठाँउमा चहलपहल समेत निकै बढेको छ । पहिले ठाँउ छाडेर हिडेकाहरु समेत फर्किन थालेका छन् ।’
त्यसो त साविकका दुई नगरपालिका र ४६ गाविसलाई मिलाएर दुई नगरपालिका सहित सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह सिन्धुली जिल्लामा रहेको छ । स्थानीय तहका कार्यालयहरु स्थापनासँगै चहलपहल तीब्र बढेपछि सो क्षेत्रका स्थानीयमा गाँउ छाडेर हिडेने क्रम रोकिदै गएको हो ।
अब दुधौली ठूलै सहर बन्न धेरै समय नलाग्ने स्थानीयको भनाई छ । दुधौलीका स्थानीय विश्वास शाहीले विकासको गतिसँगै दुधौली बदलिदै गएको अनुभव गर्नु भएको छ । दुधौली बजार क्षेत्रमा हाल पक्कि बाटोसहित स्थानीयको घरहरु समेत पक्कि संरचनाले बन्दै गएको शाहीले बताउनुभयो ।
‘दुधौली हुदै मदन भण्डारी लोकमार्ग निर्माण भएपछि व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाईमा पर्न थालेको छ,’ उहाँले भन्नुभयो । त्योसँगै दुधौली नगरपालिकाको कार्यलयनै त्यस क्षेत्रमा रहेकाले सहर बन्दै उहाँले सुनाउनु भयो । दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा पाँच देखि दश हजार रुपियाँसम्म पर्न थालेको स्थानीयको भनाइ छ ।
ठाउँ अनुसारको वस्ती विकास तथा पक्कि घरहरु धमाधम निर्माण हुँदा व्यवस्थित सहर बन्न थालेको गोलान्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहका कार्यालय र राजमार्गले छोएका स्थानमा धमाधम वस्ती विकास हुन थालेपछि ति क्षेत्रमा मानिसको आकर्षण समेत बढ्दै गएको छ ।
बीपी राजमार्गले छोएको कमलामाई नगरपालिकासहित पछिल्लो समयमा गोलन्जोर र सुनकोसी गाँउपालिका, मदन भण्डारी राजमार्गले छोएको दुधौली नगरपालिका र मरिण गाँउपालिका तथा मध्ये पहाडी लोकमार्गले छोएको गोलन्जोर र फिक्कल गाँउपालिकाको केन्द्र रहेको आसपासमा बढ्दो सहरीकरण रहेको स्थानीय बताउछन् ।
“मरिण तीब्र गतीमा विकास भइरहेको क्षेत्र हो,” मरिण गाउँपालिका प्रमुख पानीराज बम्जनले भन्नुभयो, “यस क्षेत्रमा विकासको गती तीब्र भएसँगै सहरीकरण समेत बढ्दै गएको छ । सहरीकरणसँगै बसाइँ हिड्ने व्यक्ति समेत प्रभावित भएका छन् ।” सदरमुकाम सिन्धुलीमाढीको बजार बाहेका अन्य स्थानमा समेत ठूला सहर देखिदै गएको छ ।