शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बागमती खोलाको पुल नौँ वर्षदेखि अलपत्र

शनिवार , माघ ११, २०७६

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती गाँउपालिका–४ जोड्ने बागमती खोलाको निर्माणाधिन पुल । नौ वर्षअघि निर्माण सुरु गरिएका उक्त पुल ३० प्रतिशत पनि काम नभएको स्थानीयको भनाई छ ।

हरिहरपुरगढी (सिन्धुली),११ माघ – मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती–४ जोड्ने बागमती खोलाको निर्माणाधिन पुल नौँ वर्षदेखि अलपत्र परेको छ ।

त्यस क्षेत्रमा मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौडा) कालोपत्रे सहित निर्माण भई सकन्दा उक्त पुल भने कहिले निर्माण सकिने हो ? ठेगान नभएको स्थानीय बासिन्दाको भनाई छ । पुल बनेपछि सहज यात्रा गरेर हेटौडा जाने त्यस क्षेत्रका बासिन्दाको सपना पनि सँगै अलपत्र परेको छ ।

हरिहरपुरगढी गाँउपालिका अध्यक्ष कार्साङ लामा पुल निर्माणको काम सुरु भएको नौ बर्षमा ३० प्रतिशत पनि काम नभएको बताउनुहुन्छ । “यहि पारा हो भने उक्त पुल २५ बर्षमा पनि निर्माण सकिदैन” उहाँले भन्नुभयो, “ठेकेदारसँग जनशक्ति पनि देखिदैन, एउटा स्काभेटर त रहिनछ । ठेकेदारको हो कि कर्मचारीको लापर्बाही ? बुझ्नै सकेको छैनौ ।”

पुल निर्माणमा किन ढिलाई भई रहेछ, त्यो बिषयमा छलफल गर्न ठेकेदार र आयोजना प्रमुखलाई गाँउपालिकाले बोलाउदा दुवै जना नआएको गाँउपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । पुल बन्छ र बागमती तरेर सीधै हेटौंडा जान पाइन्छ भन्ने यस क्षोत्रका बासिन्दाको सपना नौ वर्षदेखि अलपत्र बनेको उहाँको भनाई छ ।

पुल नबनेकै कारण कालो पत्रे सडक भए पनि जोखिम मोलेर बागमती नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाको गुनासो छ । स्थानीयका अनुसार उक्त लोकमार्ग हुदै आवतजावत गर्ने सवारीसाधन हिउद याममा जसोतसो खोला वारपार गर्छन । तर वर्षायाममा वारिबाट पारी जानसक्ने अवस्था हुदैन । पुल नहुदा धेरै दुःख पाएका छन् । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मदन भण्डारी लोकमार्गको उक्त पुल नबन्दा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटाँैडाका अनुसार उक्त पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको थियो ।

भ्याटबाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र पुलको लम्बाई चार सय तीन मिटर लामो रहेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर केशव ओझाले पुलको ११ वटा स्पानमध्ये एउटा असार अगाडी सकेको र अहिले अर्को स्पानको काम गर्दै गरेको बताउनुभयो । “अरु दुई वटा स्पान थप्न दवाव दिएका छौं,” उहाँले भन्नुभयो, “निर्माण कम्पनिले २०७७ जेठ महिनासम्ममा सक्छु भनेर प्रतिबद्धता जनाएको छ । जनशक्ति र निर्माण सामग्री बढायो भने त काम सक्ला, नत्र त्यो पनि हावा कुरा हुन्छ ।”

समयमै काम नगरेका कारण कारबाही स्वरुप उक्त निर्माण कम्पनिले पुल बनाउन लगेको पेश्कि रकम असुल गरी सकेको र क्षेतीपूर्ति तिराउने निर्णय भई प्रकृयासमेत अघि बढेको उहाँले जानकारी दिनुभयो ।

सुरुमा सडक विभागको पुल महाशाखाले यसको रेखदेखको जिम्मेवारी लिएको थियो । पछि धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनाले नै पुलको रेखदेख गर्ने गरी सम्झौता भएको थियो । तोकिएको समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजना कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार निर्माणको जिम्मा पाएको स्वच्छन्द भैरव निर्माण कम्पनिले निर्माणको समयमा क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो । तर पेटी ठेक्काबाट काम नभएपछि निर्माण कम्पनी आफैंले निर्माण गर्ने बताए पनि हाल निर्माण क्षेत्रमा थोरै कामदार रहेको र निर्माणले गति लिन समेत सकेको छैन ।

“हरिहरपुरगढी र बागमती जोड्ने बागमती खोलाको पुलको कार्य प्रगति सुस्त भयो भनेर हामीले विभागमा प्रतिवेदन बुझाएका छौं,” इन्जिनियर ओझाले ओझाले भन्नुभयो, “प्रतिवेदन पश्चात पेश्की स्वरूप दिएको बजेटसमेत फिर्ता मागिएको हो ।”

 

प्रतिक्रिया