सोनाम ल्होसारको अबसरमा सार्बजनिक विदा दिन कमलामाई नगरपालिकाले मंगलबार सार्बजनिक गरेको सूचना ।
सिन्धुली ८ माघ – सिन्धुलीको कमलामाई नगरपालिकाले शनिबारलाई पनि तामाङ समुदायको पर्व सोनाम ल्होसार मनाउन सार्बजनिक विदाको दिन घोषणा गरेको छ ।
नगरपालिकाले शनिबारको दिनलाई समेत गणना गरी माघ ११ र १२ गते सोनाम ल्होसार मनाउन दुई दिन विदा दिएको भन्दै सूचना सार्बजनिक गरेपछि तमाङ समुदायले आपत्ति जनाएका छन् । कमलामाई नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेको उक्त सूचना मंगलबार कार्यालयको सूचना पाटीमा टाँसेर सार्बजनिक गरेको छ ।
११ गते शनिबारको दिनलाई पनि सोनाम ल्होसार मनाउन भन्दै सार्बजनिक विदा घोषणा गर्नु जनजाति माथिको अपमान् भएको कमलामाई नगरपालिका–६ का बासिन्दा तथा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अरुणकुमार थिङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “१२ गते आईतबार एक दिन विदा दिएको भए काफी हुन्थ्यो । विदाको दिनलाई पनि खप्टिएर थप विदा दिनु जनजाति माथिको अपमान् हो । सबैले अचम्म मानेका छन्, नगरपालिकाको यो कस्तो निर्णय भनेर ।” कमलामाई नगरपालिकाको उक्त निर्णय सुनेर सामाजिक सञ्जालमा तमाङ समुदायका मानिसबाट व्यापकै बिरोध आएको उहाँले सुनाउनुभयो ।
यता कमलामाई नगरपालिकाले भने तमाङ समुदायको सोनाम ल्होसार पर्व मानाउन दुई दिन विदा दिने नगरसभा र नगर कार्यपालिकाबाट निर्णय भएकोले दुई दिन पुर्याएको जनाएको छ । “विदा माथि विदा खप्टिएर केही फरक पर्दैन,” प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले भन्नुभयो, “उक्त पर्व मनाउन दुई दिन विदा दिने निर्णय पहिले नै नगरसभाबाट पास भएकोले त्यसलाई सम्बोधन गरिएको हो ।”
नगरपालिका अन्तर्गतका सम्पुर्ण सरकारी कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालय, संघ संस्थालाई सार्वजनिक विदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै घ्याङलेख गाउँपालिकाले भने सोनाम ल्होसारको अबसरमा माघ १० र १२ गते सार्बजनिक विदाको घोषणा गरेको छ । गाँउपालिकाको पुसको अन्तिमसाता बसेको बैठकले माघे सङक्रान्तिको अबसरमा माघ १ गते र सोनाम ल्होसारको अबसरमा माघ १० र १२ गते सार्बजनिक विदा दिने निर्णय गरेको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।