सिन्धुली,२६ पुस– – सिड्स नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेश्नलको आर्थिक सहयोगमा नेपाल बाढीपहिरो पुनर्लाभ परियोजना अन्तर्गत किसानलाई सुधारिएको बाख्रा पालन र तरकारी खेती सम्बन्धी तालिम दिएको छ ।
तीनपाटन, गोलन्जोर र फिक्कल गाँउपालिकाका किसानलाई उक्त तालिम दिईएको सिड्स नेपालले जनाएको छ । परियोजनाका कार्यक्रम अधिकृत शेषर(सुरज) मिश्रका अनुसार विपन्न वर्गका ६४ जना किसानलाई दुई दिने सुधारिएको बाख्रा पालन र ९० जना किसानलाई एक दिने सुधारिएको तरकारी खेती सम्बन्धि तालिम दिईएको हो ।
परम्परागत रुपमा गर्दै आएको बाख्रापालन र तरकारी खेतीलाई सुधार गरी विपन्न किसानको आय आर्जन बढाउने उद्देश्यले उक्त तालिम दिईएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुधारिएको बाख्रा पालन तालिम लिने किसानले आफ्नो खोर सुधार गरेपछि एउटा बाख्रा अनुदान दिईने छ । खोर सुधार गर्न पनि तालिम लिएका किसानलाई १५ सय रुपैयाका दरले अनुदान उपलब्ध गराईने छ ।

उक्त कार्यक्रम अन्तर्गत नै २४७ जना किसानलाई तरकारीको बिउ र २२७ जना किसानलाई मकैको बिउ बितरण गरिने कार्यक्रम अधिकृत मिश्रको भनाई छ । तरकारी र बिउ बितरण गर्न गाँउपालिकासँग अनुमति लिई सकेको र खरिद गरी भण्डारण गरेर प्याकिङ समेत भई सकेको उहाँले बताउनुभयो ।
सिड्स नेपालका अनुसार सम्बन्धित गाँउपालिकामा कार्यरत प्रविधिकहरुले नै तालिममा सहजीकरण गरेका थिए । उक्त परियोजना अन्तर्गत नै १० वटा विद्यालय मर्मत, तीन वटा सिंचाई कुलो मर्मत, पहिरोले भत्किएको र पुरिएको थप तीन वटा सिंचाई कुलो सरसफाई, तीन वटा सडक मर्मत, तीन वटा सडक सरसफाई, चार वटा सरकारी भवन मर्मत र चार वटा कृषि हाटबजार मर्मत गर्ने कार्यक्रम रहेको छ ।
सन् २०१९ को नोभेम्बरबाट सञ्चालित उक्त परियोजना २०२० को मार्च महिनामा सकिने तर फेब्रुअरी महिनाभित्रै सबै कार्यक्रम सक्ने लक्ष्यसाथ काम गरि रहेको कार्यक्रम अधिकृत मिश्रले जानकारी दिनुभयो ।