भुकम्पपछिको पुननिर्माण अन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका–२ पोखरीमा निर्माण भएको मावि सुन्तलेको नयाँ भवन ।
पोखरी (सिन्धुली)२५ पुस– भुकम्पले भत्काएको तीन बर्षपछि फिक्कल गाँउपालिका–२ पोखरीस्थित मावि सुन्तलेले नयाँ स्वरुप पाएको छ । भुकम्पपछिको पुननिर्माण अन्तर्गत उक्त विद्यालयको भुकम्प प्रतिरोधि आधुनिक नयाँ भवन बनेको हो ।
भुकम्पले गल्र्याम्मै ढालेको उक्त विद्यालयको नया भवन एसियाली विकास बैंकको ८८ प्रतिशत ऋण सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर लुङगेलीले जानकारी दिनुभयो । भुकम्पपछि खुल्ला आकास मुनी हावाहुरी झेलेर पढ्दै आएका यहाँका विद्यार्थी आधुनिक सुविधासहितको नयाँ भवनमा पढ्न पाउदै निकै खुशी भएका उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार नयाँ भवनमा कम्प्युटर कक्षा, बाल विकास कक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्सा कोठा सहितको विद्यालयलाई चाहिने जति सबै सुविधा छ । राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले भुकम्पपछिको पुननिर्माण अन्तर्गत उक्त विद्यालय निर्माण गरेको हो । भवनको कुल लागत पाँच करोड २४ लाख २५ हजार ५०८ रुपिया रहेको छ ।
सिन्धुली जिल्लामा रहेका कुल ५७५ वटा विद्यालय मध्ये २०७२ सालमा आएको बिनासकारी भुकम्पबाट ५१३ वटा विद्यालय प्रभावित भएको राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ले जनाएको छ । भुकम्प प्रभावित मध्ये कुनै नयाँ भवन बनाउनु पर्ने, कुनै मर्मत गर्नु पर्ने खालका छन् । अहिलेसम्म ३११ वटा विद्यालयको नयाँ भवन बनि सकेको उक्त आयोजनाका प्रमुख शिब सापकोटा बताउनुहुन्छ ।
“३११ वटा विद्यालय बनि सके,” उहाँले भन्नुभयो, “यो बर्ष अब करिब एक सय विद्यालयमा नयाँ भवन निर्माण सुरु गर्छौ । २०७८ साउन भित्र सबै भुकम्प प्रभावित विद्यालयमो पुननिर्माण तथा मर्मत सकेर प्रोजेक्ट बाहिरीने योजना छ ।” यि सय विद्यालय बनि सकेपछि बाँकी विद्यालयको बास्तविकता अध्ययन गरि काम सुरु गरिने उहाँको भनाई छ । “बाँकी विद्यालयमा भवन जरुरी नहुन पनि सक्छ, धेरै बनाउनु नपर्ने होला भन्ने अनुमान छ,” आयोजना प्रमुख सापकोटाले थप्नुभयो ।
अहिलेसम्म भुकम्प पछिको विद्यालय पुननिर्माणमा दुई अर्ब ३६ करोड रुपिया खर्च भई सकेको उक्त आयोजनाले जनाएको छ । भुकम्प प्रभावित विद्यालय मध्ये २६ वटा एसियाली विकास बैंक, ३७ वटा अन्य आईएनजिओ र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भई रहेको आयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाँच बर्षभित्र पुननिर्माण सक्ने लक्ष्य छ । कोटाहरु पर्याप्त आए समय पनि पर्याप्त छ ।” निर्माण भएका विद्यालयमा कम्प्युटर ल्याब, बिज्ञान ल्याब, लाईब्रेरी, बाल कक्षा लगायतको सुविधा रहेको आयोजनाले जनाएको छ ।