सिन्धुली,२२ पौष – सिन्धुलीको कमलामाई नगरपालिकाको मंलबार सम्पन्न छैठौं नगरसभाको समाचार संकलन गर्न पत्रकारलाई रोक लगाईएको छ ।
कमलामाई नगरपालिकाको सभाहलमा मंगलवार दिउसो भएको उक्त नगरसभा (हिउदे अधिवेन) स्थलमा पुगेका पत्रकारलाई मेयरको पास चाहिने भन्दै कार्यक्रम स्थलमा जान निषेध गरेकोमो पत्रकारले आपत्ति जनाएका छन् ।
पत्रकार कृष्णहरी घिमिरेले सूचनाको अधिकार नागरिकको नैसर्गिक अधिकार भएकोमा समाचार संकलन गर्न निषेध गरेर कार्यक्रम गर्नु आपत्तिजनक कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो आपत्तिजनक कुरा हो ।” सिन्धुलीका अर्का पुराना पत्रकार कृष्णप्रसाद गौतमले पहिला—पहिला पत्रकारलाई समाचार संकलन गर्न रोक लगाउदा कार्यक्रम स्थलमा नै कालोपट्टि बाँधेर बिरोध गर्ने गरेको स्मरण गर्दै भन्नुभयो, “अहिले कस्ले बिरोध गर्ने ?”
समचार संकलन गर्न सभाहल भित्र पसेका पत्रकारलाई मेयर खड्गबहादुर खत्रीको पास चाहिने भन्दै कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले सभाहलबाट बाहिर निकालेका थिए । यस सम्बन्धमा मेयर खड्ग बहादुर खत्रीले नगरसभामा छलफल गर्ने बिषयबस्तु खासै गम्भिर किसिमको नभएकाले पत्रकारलाई नबोलाईएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पत्रकारलाई बोलाएनौ, नरिसाउनु है ।”
नगरसभा सदस्य एवं वडा नं. ५ का अध्यक्ष पूर्णबहादुर खड्काले मंगलबार बस्ने नगरसभामा लैजाने बिषय बस्तुको छलफल गर्न सोमबार बसेको नगर कार्यपालिकाको बैठकमा उपमेयर मञ्जु देवकोटासहित वडा नं. १, ४, ५, ६, १३ र १४ का वडा अध्यक्षले आपत्ति जनाउदै नोट अफ डिसेन्ट समेत लेख्नु भएको बताउनु भयो । उहाँले भन्नुभयो, “समायोजनमा आएका कर्मचारीलाई तलब खुवाउन भन्दै करिब चार करोड ३८ लाख रुपैयाँ पूजीगत बजेट रकमान्तर गरी चालु खर्चमा लैजाने निर्णय गरेपछि आपत्ति जनाउदै नोट अफ डिसेन्ट लेख्नु परेको हो ।”
“अफिसियल खर्चको बिषयलाई लिएर नेकपाबाटै बिजयी उपमेयर सहित काँग्रेसबाट निर्बाचित वडा अध्यक्ष सबैले नोट अफ डिसेन्ट लेख्यौ”, उहाँले भन्नुभयो । वडा अध्यक्ष खड्काका अनुसार मंगलबार बसेको नगरसभाले पुरक बजेटको बिषयमा छलफल गरी निर्णय गरेर सकिने छ ।