शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बाँझै बस्ने खेत अहिले हरियालीमय

मंगलवार , पौष २२, २०७६

सिन्धुलीको दुधौली नगरपालिका अन्तर्गत कमलाखुँज क्षेत्रमा यो बर्ष गरिएको तोरी खेती ।

दुधौली (सिन्धुली),२१ पौष– सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ११ टाँडीमा पत्रीङ्गा सिंचाई आयोजना निर्माण भएपछि ८५ बिगाहा जमिनमा सिंचाई सुविधा पुगेको छ ।

स्वीस सरकारको ११ करोड रुपैयाँ सहयोगमा सिंचाई डिभिजन कार्यालयले २०६९ सालदेखि उक्त आयोजनाको निर्माण सुरु गरेको स्थानीय किसानले बताएका छन् । नेपाल सरकारको मझौला सिंचाई आयोजना अन्तर्गत उक्त आयोजना बनेको जानकारी दिदै वडा अध्यक्ष कुमार लामाले भन्नुभयो, “आयोजना निर्माणसँगै झण्डै ८५ बिगाहा जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुगको छ ।”

गत बर्ष जेठ अन्तिममा सम्पन्न उक्त आयोजनाबाट करिब ४४५ घर परिवारका किसानलाई सिंचाई सुविधा पुगेको उहाँले जानकरी दिनुभयो । बिगत बर्षमा हिउद मौसम सुरुसँगै सिंचाई असुविधाका कारण बाँझै बस्ने खेतमा यतिखेर स्थानीय किसानले तरकारी फलाउनुका साथै गँहु र तोरी छरेर हरियाली बनाएका उहाँको भनाई छ । आयोजना निर्माण सम्पन्न भएपछि मध्यमाञ्चल सिंचाइ विकास निर्देशनालयले स्थानीय सिंचाई उपभोक्ता समितिलाई हस्तान्तरण गरेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

झण्डै तीन किलोमीटर लामो उक्त कुलोलाई कतै नयाँ निर्माण त कतै मर्मत गरी सम्पन्न गरिएको सिंचाई निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष यज्ञबहादुर कार्कीका अनुसार कुलो निर्माणपछि किसानले कमला नदीको पानी ल्याएर खेतमा सिंचाई गर्ने सुविधा पाएका छन् ।

“यस अघि बर्सेनि बर्षादको मौसममा खहरेको बाढीले दैनिक कुलो पुरेर दुःख दिन्थ्यो,” उहाँले भन्नुभयो, “बिहान खन्यो खहरेको बाढीले बेलुका फेरि पुरेर हैरान बनाउने, भत्काउने जस्ता सास्ती झेल्नु परेको थियो । यो अवस्थाबाट अब भने सम्पुर्ण मोही मुक्त भएका छन् ।” दुधौली नगरपालिकाको कमलाखुँज क्षेत्र अन्तर्गत पर्ने खेत अन्न भण्डार नै भएपनि सिंचाई सुविधाको समस्या रहदै आएको स्थानीय किसानको भनाई छ ।

“पहिलाभन्दा धेरै राहत भएको छ,” स्थानीय किसान महेन्द्र राईले भन्नुभयो, “भनेको बेला खेतमा पानी लाउन पाईदैनथ्यो । अहिले धेरै सुविधा भएको छ ।” उक्त आयोजनाबाट आफ्नै एक बिगाहा खेतमा सिंचाई सुविधा पुगेको र खाद्यान्न उत्पादनमा समेत बृद्धि हुन थालेको उहाँले बताउनुभयो । “एक बिघामा ५० मुरीसम्म धान फल्यो,” उहाँले थप्नुभयो ।

प्रतिक्रिया