सिन्धुलीको गोलान्जोर गाँउपालिका–७ राताटारमा भुकम्पपछिको पुननिर्माण अन्तर्गत बनेको बस्ति । अहिले यहाँ पुननिर्माण सकिएको छ ।
सिन्धुली,२१ पौष -भुकम्पले ध्वस्त सिन्धुलीको गोलान्जोर गाँउपालिका–७ राताटारमा भुकम्पपछिको पुननिर्माण कार्य सकिएको छ ।
२०७२ साल बैशाख १२ गते आएको विनासकारी भुकम्पबाट राताटार गाँउका सबै ५६ घर ढलेर ध्वस्त भएको थियो । अहिले पुननिर्माणको काम सकेर सबै लाभग्राही आफ्नै घरमा टहरोबाट सरेका स्थानीय बासिन्दा बताउछन् । “सबै घर बनिसके, छुटमा निस्किएको एक जनाको बाँकी छ ।” स्थानीय बासिन्दा निलम राइले भन्नुभयो, “केहीले मात्र ढुङा र माटो प्रयोग गरेर बनाएका छन् । नत्र सबैको छत ढलान गरेर नै घर बनेका छन् ।”
उहाँका अनुसार राताटारमा तीन कोठे र चार कोठे घर धेरै बनेका छन् । कोहीले तेस्रो किस्ता समेत लिइसकेका छन् । कोही प्रकृयामा रहेका छन् । एक घर भने घरमुली बाहिर बस्ने हुनाले निर्माण शुरु नै भएको छैन् । भूकम्पले ध्वस्त बनाएको राताटारमा यतिखेर तीनतले पक्की भवन समेत बनेको छ ।
पहिले उजाड लाग्दो राताटार बस्ति भुकम्पपछिको पुननिर्माणका कारण सुन्दर र आकर्षक बस्ती बनेको स्थानीयको ठम्याई छ । नेपालको नमूना १० शहर मध्ये खुर्कोट परेपछि राताटारमा यतिखेर सडक कालोपत्रे समेत भएको छ । पहिला उजाड लाग्ने राताटारमा यतिखेर कायापलट भएको स्थानीय बासिन्दा साबित्रा राईको भनाई छ ।
उहाँका अनुसार सडक कालोपत्रे भएपछि अन्यत्र सरेर घर बनाउने योजना बुनेकाले समेत राताटारमा आएर घर बनाएका छन् । राताटारवासीले पुननिर्माणमा अर्को अनौठो काम गरेका छन् । राइ(हायू)जातीको बाहुल्य रहेको राताटारमा पर्मबाट १३ घर बनेका छन् ।
“बाहिरबाट किन्नु पर्ने सामान सिमेन्ट, रड, बालुवा, गिट्टि, ईटा र काठपात मात्रै घरमूलीले किन्यौ,” पर्मबाटै घर बनाउनु भएका कृष्णबहादुर राईले भन्नुभयो, “गाँउघरमा नै उपलब्ध रहेकाले मिस्त्री र लेबर सबै पर्मबाटै ग¥यौं । जोसँग जे सिप छ, उस्ले आफुले जानेको काम गर्यौ ।” पर्म गर्न आउनेलाई ज्याला नदिई बिहानको खाना र खाजा भने सबैले खुवाएको उहाँले जानकारी दिनुभयो ।
“सामुहिक पर्ममा घर बनाउदा १५ लाख लगानी लाग्ने एकतले पक्की घरलाइ १० लाख मात्र लागेको छ,” उहाँले भन्नुभयो, “ज्यालाको रकम जोगिदा समेत ठुलो राहत मिल्यो ।” घरको गाह्रो लगाउदै गर्दा भेटिनु भएका स्थानीय प्रदिप राइले पनि चार हिउद र बर्षा अस्थायी टहरोमा नै बिताउनुभयो । घर निर्माण कार्य सम्पन्न गरेर दशैं नयाँ घरमा नै बिताएको उहाँले सुनाउनुभयो । आफैं खटेर घर निर्माण गर्दा पनि ११ लाख रुपियाको हाराहारीमा खर्च भएको उहाँले जानकारी गराउनुभयो ।
पाँच लाख ऋण गरेका छौं, सरकारले दिने तीन लाखमा सबै किस्ता लिई सकेको उहाँले बताउनुभयो ।
गोलान्जोर गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की भुकम्पपछिको पुननिर्माणले तीब्रता लिदै गएको र भूकम्प पीडितलाई गाँउपालिकाले दिने सक्दो सहयोग गरेको बताउनुहुन्छ । “भूकम्पका घर निर्माणका लागि चाहिने ढुङा, वालुवा र गिट्टी जस्ता निर्माण सामग्री भनेको बेला उपलव्ध गराएका छौं,” उहाँले भन्नुभयो ।