सिन्धुली फोटो क्याप्सन :– बीपी राजगमार्ग अन्तर्गत सदरमुकामस्थित शान्तिनगर चोकमा आगो तापेर बसेका स्थानीय ।
सिन्धुली जिल्लामा शुक्रबार परेको हिउदे झरीसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ ।
जाडोका कारण बालबालीका र बृद्धबृद्धा बढी प्रभावित भएका स्थानीय बासिन्दाले बताएका छन् । जाडोका कारण सडक तथा चोकहरुमा देखिने मानिसको चहलपहल समेत कमी आएको सदरमुकाम सिन्धुलीमाढी निवासी जगन्नाथ घिमिरे बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “शुक्रबार(हिजो) दिनभरी हिउदे झरी पर्यो । राती पनि पानी पर्यो । त्यसले ह्वात्तै जाडो बढ्यो । कामै हुने मात्रै सडकमा हिडेका छन् । घरबाटै निस्किन कठिन छ ।”
सिन्धुली जिल्लामा यो बर्षकै अहिलेसम्मको जाडो बढेको उहाँको अनुभव छ । उहाँका अनुसार सडकको चोक चोकमा आगो बालेर धुनी तापेर बस्ने पनि बढेका छन् । दुई दिनदेखि सिन्धुली जिल्लामा घाम लागेको छैन ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिन्धुलीमा निकै चिसो बढेको बताउनुभयो ।