शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुर्गममा एक्लिदै बृद्धबृद्धा

बिहिवार , पौष १७, २०७६

सुनकोसी गाँउपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीको दुई छोरी र चार भाई छोरा थिए । चार भाई मध्ये कान्छो छोराको करिब पाँच बर्ष अगाडी नै मृत्यु भयो । बाँकी रहेका छोरा पनि उहाँको साथमा छैनन् ।

कोहि बैदेशिक रोजगारमा गएका छन् भने कोहि सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । “छोरा यस्तो विकट ठाँउमा के बस्थे, जमानै यस्तै अयो,” बृद्ध नरबहादुरले भन्नुभयो, “बाठाटाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यहि घरमा छौ, ।”

त्यसो त बृद्ध नरबहादुर २००६ सालमा जन्मिनु भएको हो । तर उहाँलाई छोराले अपहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफुहरु एक्लिएको भन्दै उहाँले चित्त बुझाउनुभयो । “हातगोडा लागुन्जेल काम गरेर शहर बस्ने गर्छन्, यहाँ आउदैनन्,” उहाँले भन्नुभयो, “चाडपर्वमा आउछन्, यस्तै छ ।”

सुविधा र सुख खोज्दै छोराहरु सहर पस्ने क्रम बढेपछि यतिखेर गाँउ बृद्धाश्रम जस्तै बन्दै गएको उहाँले गुनासो गर्नुभयो ।

यस्तै सोही ठाँउका ७३ बर्षिय केशबकुमार सुनुवारको समस्या पनि उस्तै छ । उहाँ पनि पाँच सन्तानका बाबु हुनुहुन्छ । “सबैका छोरा सुकिलामुकिला भएर चाडपर्वमा निस्कन्छन्, खास धेरै प्रगति नगरेपनि छोरा घरमा बस्दैनन्,” उहाँले भन्नुभयो, “छोरीको विहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को विकल्प के छ र ? पछिल्लो समय दुर्गम गाँउमा बृद्धबृद्धा एक्लिदै गएका छन् ।”

पछिल्लो पुस्ता सहर उन्मुख र सुविधा भोगी भएसँगै गाँउ नबस्दा बृद्धबृद्धा एक्लिदै गएका छन् । सबै बालबच्चाका साथमै रहदा र सँगै खाना खादा रमाइलो हुने बृद्ध सुनुवार सम्झिनु हुन्छ । “एउटा छोरा बाहिर छ, अरु काठमाडाँैमा बस्छन्,” उहाँले भन्नुभयो, “यहाँ त हामी दुई बुढाबुढी बस्छौ । सबै बच्चा घरमै हुँदा जे पकाएपनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौ, खाना पनि राम्रोसँग रुच्दैन ।”

“छोराहरु गाँउमा खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्,” उहाँले थप्नुभयो, “यहाँ घर खाली छ, तर छोराहरु कोठा लिएर सहरमा बस्न रुचाउछन् ।” उहाँलाई आफ्नो छोराहरु घर नबसेको कुनै चिन्ता देखिदैन । “जमाना नै आधुनिक आयो । उनिहरु त दशै तिहारमा यसो दुई दिन घरबस्ने गरि आउछन्, अनि गइहाल्छन्,” उहाँले सुनाउनुभयो ।

आफ्नो जमानामा काठमाडौँ लगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नु पर्ने समस्या रहेको सम्झदै बृद्धबृद्धाहरु हाल गाँउमै सुविधा थपिएको बताउछन् ।

“घर अगाडी जे चाहिए पनि छ,” कमलामाई नगरपालिका–२ निवासी ७५ बर्षिय बृद्ध सोमबहादुर घलान भन्नुहुन्छ, “हामी युवा अवस्था हुदाको भन्दा अहिले धेरै सुविधा गाँउमै छ ।” गाँउमा सुविधा बढेपनि छोराहरुलाई शहर बस्ने मोह बढेकाले गाँउमा बृद्धबृद्धा एक्लिदै गएको उहाँको ठम्याई छ । “हामी मात्रै होइन बाबु, गाँउमा धेरै घर बृद्धबृद्धाको मात्रै भएको छ,” उहाँले भन्नुभयो, “गाँउका एका÷दुई घर बाहेक बृद्धबृद्धा गाँउ कुरेर बसेका छन् ।” उहाँको पनि चार छोरोको बाबु हुनुहुन्छ, तर यतिखेर साथमा कोही पनि छैनन् ।

प्रतिक्रिया