मरिण गाउँपालिकाको वडा नं ६ धामिले बजारमा नियमानुसार नदिजन्य पदार्थ उत्खनन्को राजश्व उठाइरहेका कर्मचारीमाथि जनप्रतिनिधिले नै हातपात गरेका छन् । गाउँपालिका अध्यक्ष पानिराज बम्जनले ईम्मानुयल कन्स्ट्रक्सनको कर्मचारीमाथि शुक्रबार हातपात गर्नुभएको छ ।
गत मंसिर २० गते ठेक्का प्रक्रिया विधिवत रुपमा सम्पन्न गर्दै ईम्मानुयल कन्ट्रक्सन प्रा.लि काठमाडौँले स्थानिय सरकारसँग सम्झौता गरेको थियो । सम्झौता अनुसारनै उक्त कम्पनिले ६७लाख ८० हजार रुपैँया मध्ये ५० प्रतिशत नगद र ५० प्रतिशत बैंक ग्यारेन्टी मरिण गाउँपालिकाको खातामा समेत जम्मा गरिसकेको छ । नियमानुसारनै राजश्व उठाइरहेका कन्स्ट्रक्सनका कर्मचारी सांगे लामामाथि गाउँपालिका अध्यक्ष सहित त्यहाँ रहेका कार्यकर्ताले अराजक शैलिमा हातपात गरेको प्रत्यक्षदर्शिले नाम नखुलाउने शर्तमा सिन्धुली सौगातलाई बताउनु भयोे । उहाँले भन्नुभयो, “अध्यक्षले अराजक शैलिमा मजदुरमाथि हातपात गर्नुभयो ।” गाउँपालिका अध्यक्षले उहाँमाथि हातपात गरेपछि राजश्व उठाउने रसिदपनि खोसेको उहाँले बताउनुभयो । कर उठाउने ठेलि समेत गाउँपालिका अध्यक्षले हटाईदिनुभएको छ । गाउँपालिका अध्यक्षले कर उठाइरहेका लामालाई प्रहरीको जिम्मा लगाइदिनु भएको थियो ।
प्रहरीले अनावश्यक रुपमा कामदारलाई पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नियमविपरित कर्मचारी पक्राउ गर्न नमिल्ने भनेपछि रिहा गरिएको श्रोतले बतायो । विगतमा उक्त ठेक्कामा अध्यक्ष बम्जनकै नातेदारले काम गरेको त्यहाँका स्थानियले बताउनु भयो । उक्त समयमा ५० लाखको ठेक्कामा बम्जनको आफन्तले ३ करोड कमाएको श्रोतले बतायो ।

ठेक्कामा अनैतिक तरिकाले गाउँपालिका अध्यक्षले हस्तक्षेप गरेपछि मरिण गाउँपालिका नेपाली काँग्रेस कार्य समितिले शनिबार प्रेस विज्ञप्तिनै निकालेर विरोध गरेको छ । सिन्धुली क्षेत्र नं २ (ख) प्रदेशका सभापति दिलिप अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा पदीय मर्यादा र दायित्व विमुख भइरहे नेपाली काँग्रेस चुप लागेर नबस्ने उल्लेख गरिएको छ । “स्थानिय सरकार प्रमुख पानीराज बम्जन स्वयंले सांगे लामालाई अराजक शैलिमा हातपात गरी रसिद समेत खोसेको खबर निकै दुःखद एवं निन्दनिय रहेको हुँदा यस्तो बेथिति, अराजक र निन्दनिय अवस्थाको घारे भत्र्सना गर्दछौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । मरिण गाउँपालिका कार्य समिति प्रदेश ‘ख २ नं क्षेत्रले जनप्रनिधिकिो अराजक गतिविधिप्रति चुप लागेर नबस्ने र आवश्यक परे जुनसुकै प्रकारको आन्दोलन गर्न पछि नहट्ने चेतावनि दिएको छ ।
इम्मानुएल कन्स्ट्रक्सनका प्रोपाइटर छत्र बम्जनले गाउँपालिका अध्यक्षको हस्तक्षेप सुनियोजित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो फर्मबाट आफन्तले ठेक्का पार्नु भयो । नियमानुसार काम गर्दा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु पदिय दुरुपयोग हो ।” जनप्रतिनिधिबाटै असुरक्षित भएको भन्दै छत्र बम्जनले यो घट्नाको अनुसन्धान हुनुपर्ने बताउनु भयो । छलफलकालागि बोलाउँदा समेत अध्यक्ष बम्जनले अस्विकार गरेपछि उक्त घट्ना सार्वजनिक गर्नुपरेको प्रोपाइटर छत्रले बताउनुभयो ।
यता गाउँपालिका अध्यक्ष पानिराज बम्जनले भने यो विषयमा खासै बोल्न चाहनु भएन । उहाँले नेपाली काँग्रेसको विज्ञप्तिका विषयमा पनि अनविज्ञता जनाउनु भयो । उहाँले अनावश्यक तरिकाले पैसा उठाएकाले त्यसो गर्नुपरेको भन्दै पन्छिनु भयो ।