शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

शनिवार , पौष १२, २०७६

सिन्धुलीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु गरिएको छ । तथ्याङ्क कार्यालय सिन्धुलील शुक्रवार जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी तयारी सुरु गरेको जनाएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारीले तथ्यांक सत्य तथ्य रुपमा आउनु पर्ने बताउनु भयो । “जनगणनामा कोही नछुटुन्,कोही नदोहोरिउन”, उहाँले भन्नुभयो, “राज्यले लिएको दिगो विकास लक्ष्यको सूचकहरु मध्ये जनगणना पनि एक हो । त्यसैले यसलाई सबैले मिलेर सफल पार्नु पर्छ ।” बिगतका जनगणनामा चौतारामा बसेर तथ्यांक ल्याएको सुनिएकोले यस पटक त्यस्ता गलत कार्य हुनु नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनगणना भरपर्दो, व्यवस्थित र अपेक्षा गरे अनुसारको हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिगतको जनगणनाको कमि कम्जोरीलाई सच्याउदै अपेक्षा गरिएको परिणाम ल्याउनु पर्छ ।”

यस्तै दुधौली नगर प्रमुख घनश्याम राउतले छलफलको क्रममा उठाईएका सल्लाह र सुझावले राष्ट्रिय जनगणनाको अभियानलाई सहयोग पुगेको बताउनुभयो । यो अभियानमा स्थानीय तहले गर्नु पर्ने सहयोग पूर्णरुपमा रहेन उहाँको भनाई थियो ।

कार्यक्रममा तथ्यांक कार्यालयका प्रमुख टिकाप्रसाद नेपालले राष्ट्रिय जनगणना २०७८ का लागि नक्सा बनाउने कार्य भई रहेको जानकारी दिनुभयो । जनगणनालाई प्रभावकारी बनाउन प्रचार प्रसारमा तिब्रता दिईएको र सरकारका तीनै तहसँग छलफलको कार्यक्रम रहेको उहाँले चर्चा गर्नुभयो । उहाँले जनगणनामा प्रयोग गरिने प्रश्नावली सबै सरल भाषामा तयार भएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया